स्वास्थ्य सेवाका लागि सदरमुकाम पुग्नुपर्ने बाध्यता !
बाँके । बाँकेको नरैनापुर गाउँपालिकावासीलाई अहिले पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता छ । जिल्लाको विकट क्षेत्रका रूपमा रहेको नरैनापुर गाउँपालिकामा गुणस्तरीय स्वास्थ्य सेवाका लागि आवश्यक उपकरणको व्यवस्था हुन नसक्दा जनताले स्थानीय तहमा स्वास्थ्य सेवा पाउन सकेका छैनन् ।
नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन आफूहरू लागिपरे पनि आवश्यक उपकरण खरिद गर्न आर्थिक अभाव भएकाले चाहेजति स्वास्थ्य सेवा प्रवाह गर्न नसकेको बताए । “नरैनापुरमा कुनै प्रकारको आन्तरिक स्रोत नरहेकाले पनि आर्थिक समस्या भएको छ”, उनले भने, “जनतालाई गाउँपालिकामै गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका लागि प्रदेश र सङ्घीय सरकारसँग बजेटको माग गरेका छौँ ।”
बाँकेको राप्ती नदीपारि भारतसँग जोडिएको नरैनापुर गाउँपालिकावासी जनता अहिले पनि स्वास्थ्य परीक्षणका लागि भारतीय सहर वा ४६ किलोमिटरको दूरीमा रहेको सदरमुकाम नेपालगञ्ज पुग्नुपर्ने बाध्यता रहेको नरैनापुर–६ का सोहनलाल यादवले बताए । नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा संयोजक नगेन्द्रकमार शाहले नरैनापुरमा ४६ हजार दुई सय जनसङ्ख्या रहेकामा यो आर्थिक वर्षमा छ सय ६६ जना सुत्केरी र एक हजार दुई सय १५ गर्भवती रहेको जानकारी दिए । उनका अनुसार नरैनापुरमा अहिले एउटा प्राथमिक स्वास्थ्य केन्द्र र छ वडामा प्रसूतिगृहसहितका स्वास्थ्य चौकीबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको छ ।
यसैबीच बुधवार नरैनापुरमा निर्माणाधीन अस्पतालको निरीक्षण गर्न पुग्नुभएका लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले सुत्केरी हुन नसकी अकालमा कुनै आमा तथा नवजात शिशुको मृत्यु हुन नदिन लुम्बिनी प्रदेश सरकारले उच्च प्राथमिता दिएको बताएका छन् । उनले लुम्बिनी प्रदेशले नरैनापुरलाई प्रमुख प्राथमिकतामा राखेको बताउदै निर्माणाधीन अस्पतालका लागि रु ५० लाख बजेट विनियोजन गरेको बताए । उनले ग्रामीण तथा दुर्गम क्षेत्रमा रहेका स्वास्थ्य संस्थालाई जनशक्ति, उपकरण तथा भौतिक पूर्वाधारमा बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया