झापामा कालाजारका दुई सङ्क्रमित भेटिए
झापा । जिल्लामा कालाजार रोगका दुईजना नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
झापामा विगत वर्षमा पनि सङ्क्रमित भेटिएका थिए । कार्यालयका सम्पर्क व्यक्ति वीरेन्द्र दासले विर्तामोड नगरपालिका–५ र शिवसताक्षी नगरपालिका–६ मा कालाजारको सङ्क्रमित भेटिएको बताए । बिरामी भएर उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जाँदा उनीहरुमा कालाजार पुष्टि भएको थियो ।
उनले कालाजारका सङ्क्रमित फेला परेको टोलमा आरडिटी किटमार्फत रगत परीक्षण गरिरहेको जानकारी दिए । यही चैत महिनामा फेला परेका दुवै सङ्क्रमित पुरुष छन् । उनले हाल जिल्लाका विभिन्न स्थानमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविका र सरोकारवाला लगायतसँगको समन्वयमा अभिमुखीकरण तथा कालाजार खोजी गरिरहेको जानकारी दिए ।
प्रोटोजोआको लिस्मेनिया परजीवी ‘स्यान्डफ्लाई’ नामक पोथी भुसुनाको टोकाइबाट मानिसमा कालाजार सङ्क्रमण हुने उनको भनाइ छ । सङ्क्रमितलाई टोकेको पोथी भुसुनाले निरोगी व्यक्तिलाई टोकेमा कालाजार सर्ने गर्छ ।
कालाजारका बिरामीमा जीउ कालो हुँदै जाने र दुई साताभन्दा बढी अवधिसम्म ज्वरो आउने, भुँडी सुन्निनेलगायत लक्षणहरु देखापर्छन् । खुला र भुइँघरमा प्रायः रोग सार्ने भुसुनाले मानिसलाई टोक्ने गर्दछ ।
उनले कालाजारविरुद्ध अहिलेसम्म खोप उपलब्ध नभएका कारण भुसुनाको टोकाइबाट बच्न लामो बाहुला भएको कपडा लगाउने, भुसुना भगाउन तेल वा क्रिम शरीरमा दल्ने, घर वरिपरि सरसफाइमा ध्यान दिने, साँझको समयमा घरबाहिर नघुम्ने, राति झूल लगाएर मात्र सुत्ने सल्लाह दिए।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया