पालिकाद्वारा दीर्घरोगी र गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा
गोरखा । जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका १०५ जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए ।
“दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ,” उनले भने, “त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।”
गाउँपालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन् । उनीहरु सबैले आउँदो ०८१ जेठ १ गतेदेखि बीमाबापतको स्वास्थ्य उपचार सेवा लिन पाउने अध्यक्ष तिमल्सिनाले बताए ।
गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमाबापत लाभग्राहीले वार्षिक रु. १ लाखसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन् ।
“यो कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ,” अध्यक्ष तिमल्सिनाले भने, “गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती र दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरेर कार्यक्रम सञ्चालन गरेको हो ।”
गाउँपालिकाले बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया