सुदूरपश्चिममा १५ लाख थान पाठ्यपुस्तक बिक्री
अत्तरिया। जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा १५ लाख ११ हजार थान पाठ्यपुस्तक बिक्रीवितरण गरेको जनाएको छ ।
नयाँ शैक्षिक सत्र २०८१ का लागि प्रदेशका नौवटै जिल्लामा स्थानीय पुस्तक बिक्रेतामार्फत केन्द्रले पुस्तक बिक्रीवितरण गरेको हो । उक्त पुस्तक बिक्रीवितरणबाट रु १८ करोड बराबरको कारोबार गरिएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीका प्रमुख रामबहादुर कुँवरले जानकारी दिए।
उनका अनुसार केन्द्रले आगामी शैक्षिकसत्र २०८१ का लागि प्रदेशभरि १९ लाख १५ हजार एक सय ८५ थान पाठ्यपुस्तक बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए ।
“सात पहाडी जिल्लाका सबै ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । केही छुटेका ठाउँमा पनि शैक्षिकसत्र सुरु हुनुअगावै पाठ्यपुस्तक पु-याउँछौँ”, उनले भने, “हामीसँग पाठ्यपुस्तक पर्याप्त छ । कैलाली र कञ्चनपुरमा पनि अधिकांश ठाउँमा पाठ्यपुस्तक पुगिसकेको छ । बाँकी पाठ्यपुस्तक शैक्षिक सत्रअगावै पुग्छ ।”
केन्द्रले यही चैत १३ गतेदेखि पाठ्यपुस्तक बिक्रीवितरण सुरु गरेको थियो भने सबैभन्दा पहिले प्रदेशको विकट हिमाली जिल्ला बाजुरामा पाठ्यपुस्तक ढुवानी सुरु गरेको थियो । कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक निजी क्षेत्रले बिक्रीवितरण गर्दै आएकामा आगामी शैक्षिकसत्रका लागि भने जनक शिक्षाले कक्षा ३ र ४ को पाठ्यपुस्तक २० प्रतिशत छुटमा बिक्रीवितरण गरिरहेको कार्यालय प्रमुख कुँवरले जानकारी दिए।
चालु शैक्षिकसत्रमा केन्द्रले यस प्रदेशमा कक्षा ६ देखि १२ सम्मका १७ लाख ४१ हजार थान पाठ्यपुस्तक बिक्री गरेको जनाइएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया