देवचुली पूर्ण खोप सुनिश्चितता नगरपालिका
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को देवचुली नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ ।
नगरभित्रका खोप लगाउने उमेर समूहका सबै बालबालिकालाई खोप लगाइएपछि आइतबार देवचुलीलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको हो ।
नगरपालिका खोप समन्वय समितिले आयोजना गरेको कार्यक्रममा नगरप्रमुख हरिप्रसाद न्यौपानेले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरेका हुन् ।
नगरपालिकामा आर्थिक वर्ष २०८०/८१ मा वडा नं १ देखि १७ सम्मका १५ महिना मुनिका आठ सय ७६ बालबालिकालाई पूर्ण खोप लगाइएको छ । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा वडा नं १ देखि १७ सम्मका १६ महिनादेखि ५९ महिना मुनिका दुई हजार चार सय सात बालबालिकालाई खोप लगाइ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार श्रेष्ठले बताए ।
नगरपालिकामा रहेका एउटा नगर अस्पताल, तीन स्वास्थ्य चौकी, १२ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २१ खोप केन्द्रबाट २० जना खोप कार्यकर्ताले पालिकाका सबै बालबालिकालाई खोप लगाउने कार्यक्रम पूरा गरिएको जनाएका छन् ।
नगरपालिका खोप समन्वय समितिका संयोजकसमेत रहेका नगरप्रमुख हरिप्रसाद न्यौपानेले खोप लगाउने उमेर समूहका कुनै पनि बालबालिका खोपबाट कहिल्यै बञ्चित हुन नहुने बताए । उनले खोप सुनिश्चिततालाई दीर्घकालीन बनाउन नगरपालिका प्रतिबद्ध रहेको जनाउँदै यसमा स्वाथ्यकर्मीको सबैभन्दा महत्वपूर्ण भूमिका रहने बताए।
यस पालिका विसं २०७० चैत १२ मा पहिलोपटक पूर्ण खोप नगर घोषणा भएको थियो । पालिकालाई हालसम्म पूर्ण खोप नगरपालिकाको सुनिश्चतता एवं दिगोपनालाई निरन्तरता दिइरहेको छ । आगामी वर्षमा पनि यस कार्यलाई निरन्तर राख्न स्थानीय सरोकारवालाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया