कुपोषित बालबालिकालाई पोषणयुक्त आहार
मान्म । कालिकोटको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ ।
गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अवस्था जाँच गर्दा ती बालबालिकामा कुपोषण देखिएको थियो ।
उनीहरुलाई पोषणयुक्त आहार वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कुपोषण पहिचान शिविरमा देखा परेका उनीहरुका लागि पोषणयुक्त खाद्यवस्तु अण्डा, लिटो बनाउने चामल, पाँच केजी मासु, मुसुराको दाल, चना केराउलगायतका आहार वितरण गरिएको नरहरिनाथ गाउँपालिकाले जनाएको छ ।
नरहरीनाथ गाउँपालिकाको चारवटा वडाका पाँच सय ३८ बालबालिकाको कुपोषण जाँच गरिएको थियो । त्यसमध्ये ४१ जनामा मध्यम खालको कुपोषण र छ जनामा कडा खालको कुपोषण देखा परेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मनोज बोगटीले जानकारी दिए ।
“अस्पतालमा आएर जाँच गरि कुपोषण देखा परेका बालबालिकाको अभिभावक फेरि बच्चा लिएर नियमित अस्पताल आउन मान्दैनन्”, उनले भने, “स्याहार सुसार र आहार नपाएरै कुपोषण देखा पर्ने गरेको छ । ग्रामीण भेगमा बालबालिकालाई छाडेर मेलापात, घाँस दाउरा वनपाखा गर्नुपर्ने हुन्छ । उनीहरुको रेखदेख र स्याहार नहुँदा कुपोषण लाग्ने गरेको पाइएको छ ।”
कुपोषण भेटिएका वडामा खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी पाँच वर्ष मुनिका बालबालिकाका बाबुआमालाई कक्षा सञ्चालन गरिएको छ । गाउँपालिकाकाले पोषणमैत्री अभियान सञ्चालन गरी कुषोषणमा कमी ल्याउने काम गरिरहेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताए ।
“कुषोषण न्यूनीकरण गर्न गाउँसभाले बजेट व्यवस्थापनको तयारी गरेको छ”, उनले भने “पोषणमैत्री पालिका निर्माणका लागि गाउँपालिकाले अन्य सङ्घ संस्थासँग समन्वय र सहकार्य गर्न तयार छ ।”
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया