सईदेखि जवानसम्मका २९ प्रहरी ड्युटी छाडेर सम्पर्कविहीन

काठमाडौं । नायब निरीक्षक (सई) देखि कार्यालय सहयोगीसम्मका २९ प्रहरी कर्मचारी कार्यरत कार्यालयमा जानकारी नदिई सम्पर्कविहीन भएको पाइएको छ । देशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरू बिनाजानकारी गैरहाजिर भएपछि प्रहरी प्रधान कार्यालयले हाजिर हुन बोलाएको छ ।
आफूखुसी कार्यालयमा गैरहाजिर रहेका २९ प्रहरीको खोजतलास गरी सूचना टाँस गर्दासमेत सम्पर्क नआएकाले प्रहरी नियमावलीअनुसार सात दिनभित्र हाजिर हुन बोलाएको प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । यी प्रहरी ०८० चैत १५ देखि ०८१ जेठ ३१ सम्मबाट गैरहाजिर बनेका हुन् ।
आफू कार्यरत कार्यालयमा जानकारी नदिई सम्पर्कविहीन हुने प्रहरीहरूमा प्रहरी नायब निरीक्षक गगन चन्द, बन्दना राई, प्रमोद चौधरी, प्रहरी सहायक निरीक्षक नवीनप्रसाद जोशी, प्रहरी सहायक हवल्दार प्रेमप्रसाद पौडेलदेखि प्रहरी कार्यालय सहयोगी अनिता रानासम्म छन् ।
महानिरीक्षकको सचिवालयले स्पष्टीकरणसहित सातदिनभित्र सम्पर्कमा आउन अनुरोध गर्दै अन्यथा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा कारबाही गर्ने जनाएको छ । प्रहरी नियमावलीमा कुनै पनि प्रहरी बिनाजानकारी ९० दिनभन्दा बढी समय अनुपस्थित रहेमा सेवाबाट हटाउन सक्ने प्रावधान छ ।
नेपाल प्रहरीमा बीचमै जागिर छाडेर हिँड्ने समस्या पेचिलो बन्दै आइरहेको छ । न्यून वेतन, अवकाशको उमेर, आकर्षक वैदेशिक रोजगारीका कारण प्रहरीहरूमा उस्तो समस्या बढेको बताइन्छ ।
प्रहरीले बीचमै जागिर छाड्दा उनीहरूमाथिको लगानी खेर गइरहेको भए पनि समाधानका लागि सरकारले ठोस कदम चाल्न सकेको छैन ।
प्रतिक्रिया