आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो
राँझा । भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेकोे छ । भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका बिरामीको सङ्ख्या बाँकेमा केही वर्षयता बढ्दै गएको छ ।
पछिल्ला केही वर्षदेखि जिल्लाका विभिन्न पालिकामा औलो रोगका बिरामीहरु बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति दुर्गा गौतमले जानकारी दिए।
“स्थानीय समुदायका व्यक्तिभन्दा बाहिरबाट आएका आयातीत व्यक्तिहरु सङ्क्रमित भएर समुदायमा आउँदा औलो रोगका बिरामीहरु बढी पाइएको छ”, उनले भने, “पछिल्ला केही वर्षदेखि जिल्लामा आयातीत बिरामीहरुमा यो रोग बढी पाइएको छ ।” उनका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा बाँके जिल्लामा एक सय ६२ सर्वसाधारणमा औलो रोग पुष्टि भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा एक सय २२ सर्वसाधारणमा सङ्क्रमण देखिएको थियो । जिल्लामा सबैभन्दा धेरै नरैनापुर गाउँपालिका औलोको उच्च जोखिममा रहेको छ । गत आवमा सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा नरैनापुरमा एक सय ३१ औलोका बिरामीहरु फेला परेका थिए ।
यसैगरी, राप्तीसोनारीमा नौ, डुडुवामा आठ, नेपालगञ्जमा सात, कोहलपुरमा तीन, बैजनाथ र खजुरामा दुई/दुईजनामा औलो रोग पुष्टि भएको थियो । जानकी गाउँपालिकामा भने शून्य रहेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा पनि सबैभन्दा धेरै नरैनापुरमा एक सय तीन, नेपालगञ्जमा १०, कोहलपुरमा चार, राप्तीसोनारी र खजुरामा दुई/दुई, जानकीमा एकजनामा औलो रोग पुष्टि भएको थियो । डुडुवा र बैजनाथमा भने शून्य पाइएको थियो ।
भारतलगायत तेस्रो मुलुकबाट आयातीत औलो रोगका बिरामीको सङ्ख्या बढ्दै गएका कारण जोखिम बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कीटजन्य रोग स्रोतव्यक्ति गौतमको भनाइ छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया