NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते
विचार

सेयर बजार, लगानीकर्ता र बरबादीका कारण

सेयर बजारमा अपुष्ट र प्रायोजित हल्ला फैलाइने भएकाले यसप्रति लगानीकर्ता विशेष चनाखो बन्नुपर्छ

लामो समय झण्डै तीन वर्षपछि सेयर बजारमा ठूलो सुधार देखियो । कम्पनीको वित्तीय अवस्था र आर्थिक स्थितिमा सुधार नदेखिएता पनि राजनैतिक प्रभावकै कारण छोटो समयमा बजार बढेको देखिन्छ । साउन महिनामा कुनै ब्रेक नलगीकनै बजार तीन हजार बिन्दुमा पुगेर ओरालो लागेको छ ।

हाल बजारमा भोलाटिलिटी (अस्थिरता) बढी देखिएको छ । यसका दुई–तीन वटा कारण छन् । ‘पब्लिक सेन्टिमेन्ट’ त्यसमध्येको एक हो । कहिलेकाहीँ मास सेन्टिमेन्ट उच्च बिन्दुमा पुगेको खण्डमा वा पब्लिकको सेन्टिमेन्टमा दखल आएको खण्डमा बजार अलि बढी अस्थिर हुन्छ । बजारमा ट्रेडर हाबी हुँदा पनि प्राविधिक विश्लेषण गरेर कारोबार गर्ने प्रवृत्ति देखिएको छ । बजार अस्थिरताको यो दोस्रो कारण हो ।

पुँजीबजार भनेको समुन्द्र हो, समुन्दबाट पानी झिक्ने र आफ्नो तिर्खा मेट्ने हो, आफूसँग भएको पानी समुन्द्रमा लगेर मिसाइदिने होइन

संस्थागत लगानीकर्ताहरू बजारमा प्रवेश गर्दा र निस्किँदा नेप्से परिसूचकमा त्यसको असर देखिने गरेको छ । कतिपय कम्पनीका सेयर मूल्य ‘अन्डर भ्यालुएसन’ हुँदाहुँदै खरिकर्ता झुम्मिन्छन् र नेप्से परिसूचक हिट हुन थाल्छ । सामाजिक सञ्जालमा पनि विभिन्न समाचारहरू आइरहेका हुन्छन् । ती समाचार यथार्थ कम र प्रायोजित बढी हुन्छन् । तर त्यसको मक्सद र उद्देश्य नबुझी कारोबार गर्न पुग्छन् । हल्लको पछि लागेर कहिल्यै पनि लगानी गर्न हुँदैन ।

कसरी गर्ने तथ्य जाँच ?

बजारमा फैलिएका विभिन्न ह्युमरलाई लगानी गर्नेले तथ्य जाँच गर्नुपर्छ । त्यसपछि मात्रै आफ्नो खल्तीको पैसा लगानी गर्ने कि झिक्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

बजार बढेर २ हजार ८०० बिन्दुमा पुगेको बेला प्रधानमन्त्रीले अब केक काट्दै हुनुुहन्छ भनेर एउटा ह्युमर फैलियो । तर कसैले पनि त्यो समाचार सत्य हो कि मनगढन्ते, जाँच गरेन । समाचार कहाँबाट फैलिएको थियो, त्यसको खोजी पनि गरिएन । कसैले प्रधानमन्त्रीको सचिवालयमा फोन गरेर सोध्यो– प्रधानमन्त्रीज्यूले केक काट्न लागेको हो भनेर ? यस्तो विषयमा नबहकिई लगानीकर्ताले तथ्य जाँच गर्न जरुरी छ । सामाजिक सञ्जालमा भएका÷नभएका समाचार आउने भएकाले यथार्थ के हो भने स्पष्ट हुनुपर्छ । तथ्य जाँचका लागि लगानीकर्ताले नेप्सको वेबसाइट भिजिट गर्न पनि सक्छन् । त्यस्तै, लगानीकर्ताले हरेक सूचना कहाँबाट फ्लो हुन्छ भन्ने कुरा जान्नुपर्छ । सूचनाको सबैभन्दा पहिलो स्रोत भनेको नेप्सेको बेवसाइट हो । नेप्सेले आफ्नो वबसाइटमा सूचनाहरू सार्वजनिक गरेपछि त्यसकै आधामा सञ्चारमाध्यमा समाचार आउने हो । सञ्चारमाध्यममा आएका सबै समाचारमा भर पर्न सकिँदैन । तर नेप्सेको वेबसाइट पूर्णतः विश्वसनीय हुन्छ ।

सामाजिक सञ्जालमा प्राविधिक विश्लेषण गरेर कुनै कम्पनी नै तोकेर मूल्य यतिसम्म पुग्छ भनिरहेको देखिन्छ/सुनिन्छ । यो त्यति उपयुक्त लाग्दैन । हुन त हरेक सेक्टरमा मानिसका आ–आफ्ना विज्ञता हुन्छ । त्यसलाई गलत भन्न मिलिहाल्दैन । तर त्यो विज्ञता आफ्नो लागि प्रयोग गर्नुपर्छ नकि सर्वसाधारण यो र त्यो भनेर प्रचार गर्न । जसलाई जे लाग्छ, त्यो आफैंले गरोस्, आम सर्वसाधारण सोझा लगानीकर्ताको दिमाग कसैले पनि नभुटोस् ।

आधारभूत विश्लेषण कि प्राविधिक विश्लेषण ?

भर्खर/भर्खर सेयर बजार प्रवेश गरेका लगानीकर्ता प्राविधिक विश्लेषणको आधारमा मात्रै बजार छिर्नु जोखिमयुक्त हुन्छ । आधारभूत विश्लेषण सेयर बजारको सबैभन्दा बलियो आधार भएकाले कम्पनीको ‘पफमेन्स’ कस्तो छ, नाफा कति कमाएको छ, त्यसलाई बाँडेको छ कि छैन, इपिएस, डिपिएस के छ ? व्यवस्थापन समूह कस्तो छ ? बोर्डमा को–को छन् ? कम्पनीको व्यवसायको वृद्धि कस्तो छ, भविष्यको योजना के छन् ? मिहीन ढंगले नियाल्नु पर्छ । अध्ययन र विश्लेषण नगरी अर्काको लहैलहैमा लगानी गर्ने हो भने समस्यामा पर्न सकिन्छ ।

सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार

सर्ट सेलिङ, इन्ट्रा–डे कारोबार अन्तर्राष्टिय बजारमा अभ्यास भइरहेको छ । नेपाली लगानीकर्ताहरूले त्यही कुरा नेपालमा पनि कार्यान्वयनमा आउनुपर्छ भनेर लामो समयदेखि माग राख्दै आएका छन् । यसका सकारात्मक र नकारात्मक दुवै पाटा छन् । कार्यान्वयनमा ल्याउनु ठूलो कुरा भएन तर भविष्यमा कसरी अगाडि जाने भन्ने कुरा महत्त्वपूर्ण हो । कार्यान्वयनमा ल्याउनको लागि नियामक निकायले पनि त्यहीअनुरूप पहलकदमी लिनुपर्ने हुन्छ । तर उसले यसतर्प त्यति ध्यान दिएको पाइँदैन ।

हाल कारोबारी हाबी भएको बजारका लगानीकर्तामा वित्तीय साक्षरता निकै न कम छ । यस्तो अवस्थामा बजारको बारेमा लगानीकर्तामा सचेतना बढाउनु पर्ने हो कि ? लगानीकर्ताले हामी ६२ लाख भन्दै गर्दा टिएमस खोल्ने २० लाखको हाराहारीमा मात्रै देखिन्छ । त्यसैले वास्तविक कारोबारी कति हुन्, निगरानी हुनुपर्छ । विडम्बना, हाम्रोमा निगरानी एकदमै फितलो छ । धितोपत्र बोर्डको हालत त्यस्तै छ, अहिलेसम्म अध्यक्ष नियुक्त हुन सकेको छैन । नेप्सेबाट पनि कामहरू हुनुपर्ने हो, तर त्यसको हालत पनि त्यस्तै छ ।

सेयर बजारमा हुनुपर्ने ‘रियल टाइम सर्भिस’ हो । जस्तो बजार चल्दै गर्दा कुनै टिएमस प्रयोगकर्ताले अनैतिक गतिविधि गरिरहेका हुन्छन् ।
लगानी भनेको प्रतिफलको लागि गरिन्छ । त्यसको आशमा विचार नगरी लगानी गरियो भने त्यो असुरक्षित हुनसक्छ ।

ध्यान दिनुपर्ने कुराहरू

पुँजीबजारमा लगानी गर्ने हो भने लगानीकर्ता असाध्यै चनाखो हुुनपर्छ, विशेषगरी दोस्रो बजारमा । कोही सेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ भने कमाउनका लागि हो गुमाउनका लागि होइन भन्ने सोच्नुपर्छ । सेयरमा सधैं नाफा नै हुन्छ भन्ने सुनिश्चित पनि हुँदैन । त्यसैले कुनै न कुनै समयमा गुमाउन पनि सक्छु भन्ने सोचेर सन्तुलित दृष्टिका साथ कारोबार गर्नुपर्छ ।

लगानी भनेको पैसा खन्याउनु मात्रै नभएर प्रतिफल लिनु पनि हो । त्यहाँबाट आएको प्रतिफलले आफ्नो आवश्यकता पूरा गर्नु पनि लगानी हो । सेयर बजारमा लगानी गरेको छ भने उपयुक्त समयमा आफ्नो पैसा झिक्नुपर्छ ।

बजारमा अवसर हरेक दिन घुम्छ, तर ठुल्ठूला अवसर आवधिक रूपमा मात्रै घुम्छ । त्यही बेला आफ्नो मुनाफा झिक्न सक्नुपर्छ । पुँजीबजार भनेको समुन्द्र हो, समुन्दबाट पानी झिक्ने र आफ्नो तिर्खा मेट्ने हो, आफूसँग भएको पानी समुन्द्रमा लगेर मिसाइदिने होइन ।

साना लगानीकर्ता बजार बुलिस सेन्टिमेन्टमा भएको बेला होइन, बियरिस बटमा पुगेको बेला प्रवेश गर्नुपर्छ । छोटो समयमा बजार असाध्यै बढेको बेला बजारमा प्रवेश नगर्न म लागनीकर्तालाई सुझाव दिन चाहन्छु । नयाँ लगानीकर्ता जो दोस्रो बजारमा आउन खोज्दै हुनुहुन्छ भने पहिले सिक्नुहोस् । अनि मात्रै बजारमा प्रवेश गर्न अनुरोध गर्छु ।

ताजा अपडेट

नेपालवाच विशेष