NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

२४ प्रहरी सम्पर्कविहीन, प्रधान कार्यालयले हाजिर हुन बोलायो

काठमाडौं । २४ प्रहरी बिना जानकारी सम्पर्कविहीन भएका छन् । सहायक निरीक्षकदेखि जवान पदमा कार्यरत प्रहरी लामो समयदेखि गैरहाजिर रहेपछि प्रहरी प्रधान कार्यालयले सातदिने स्पष्टीकरण सोधेको छ ।

प्रहरी प्रधान कार्यालयले पोस्टिङ भएको कार्यालयमा बिना जानकारी ९० दिनभन्दा बढी समय अनुपस्थित रहेका प्रहरीलाई उपस्थित हुन सूचना टाँस गरेको थियो । उक्त अवधिमा सम्पर्कमा नआएपछि प्रहरी नियमावली, २०७१ अनुसार सातदिने स्पष्टीकरण सोधिएको प्रधान कार्यालयले जनाएको छ ।

बिना जानकारी लामो समयदेखि गैरहाजिर रहनेहरूमा प्रहरी सहायक निरीक्षक अर्जुन विक, शिव श्रेष्ठ, अजय बुढाथोकी, प्रहरी सहायक हवल्दार रञ्जिता गुरुङलगायत छन् ।

नियम पालना नगरी गैरहाजिर प्रहरीलाई बाटोको म्यादबाहेक सातदिनभित्र चित्तबुझ्दो जवाफसहित स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । अन्यथा उनीहरूलाई सेवाबाट हटाउने उसको चेतावनी छ ।

प्रहरी नियमावलीमा प्रहरी सेवाका कुनै पनि कर्मचारी ९० दिनभन्दा बढी समय बिना जानकारी गैरहाजिर रहेमा सेवाबाट हटाउन सकिने प्रावधान छ ।

नेपाल प्रहरीमा बीचमै जागिर छाडेर जाने प्रवृत्ति केही वर्षयता मौलाउँदै गएको छ । सुरक्षा निकायमा कार्यरत व्यक्तिलाई वैदेशिक रोजगारीमा आवश्यक तलब मिल्ने भएकाले अधिकांश बीचमै सेवा छाडेर त्यसतर्फ जाने गरेका छन् । यसरी बीचमै प्रहरी जागिर छाडेर जाँदा राज्यको लगानी खेर गइरहे पनि यसको नियन्त्रणतर्फ खासै तदारुकता देखाइएको छैन ।

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष