प्रतिपक्षी दलहरूको बैठक बानेश्वरमा सुरु, महन्थ ठाकुर पनि सहभागी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूको बैठक नेकपा (माओवादी केन्द्र) को संसदीय दलको कार्यालय, बानेश्वरमा सुरु भएको छ । सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउको तयारी गरिएको तथा अध्यादेश ल्याएर माधवकुमार नेतृत्वको नेकपा (एकीकृत समाजवादी) विभाजन गर्न लागिएको प्रचारमाझ प्रतिपक्षी दलहरू संवादमा जुटेका हुन् ।
केहीबेरअघि सुरु बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का सचिवालय सदस्य रमेश मल्लले जनाएका छन् ।
केही समययता माधवकुमार नेपालको दल विभाजनका लागि सरकारले अध्यादेश ल्याउने तयारी गरिरहेको विवरण सार्वजनिक भएको छ । पदाधिकारी चयनका लागि केही समयअघि सम्पन्न निर्वाचनलाई लिएर एकीकृत समाजवादीका केही नेता तथा सांसद नेतृत्वसँग रुष्ट छन् । रुष्ट नेतामध्ये कतिपय पुरानै घर एमालेमा फर्कंने मनस्थितिमा रहेको बताइएको छ ।अघिल्लो पटक प्रधानमन्त्री हुँदा दल विभाजन गर्न अध्यादेश ल्याएका ओलीले असन्तुष्ट ती नेताकाे सहजताका निम्ति उस्तै बाटो समात्न लागेको चर्चा राजनीतिक वृत्तमा छाएपछि एकीकृत समाजवादी सशंकित बनेको छ । नेताहरूका अनुसार जारी बैठकमा ओलीको सम्भावित उक्त कदम रोक्नेबारे छलफल हुनेछ ।
सहकारी ठगी प्रकरणमा मुछिएका रवि लामिछानेको सम्भावित गिरफ्तारीबारे पनि बैठकमा छलफल हुने अनुमान गरिएको छ । सूर्य थापा संयोजकत्वको संसदीय छानबिन समितिले गोरखा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने सहकारी ठगीमा प्रत्यक्ष संलग्न नरहेको निचोड निकाले पनि सहकारीबाट टेलिभिजनमा आएको रकम परिचालनमा संलग्न रहेकाले जिम्मेवार हुनुपर्ने जनाएको छ । गोरखा मिडिया प्रालिको सञ्चालकको भूमिकामा रहेका नेपाल प्रहरीका पूर्वडिआइजी छविलाल बञ्जाडे (जोशी) दशैंअघि नै पक्राउ परे पनि लामिछानेलाई भने अहिलेसम्म पक्राउ परेका छैनन् ।
बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो पार्टीका नेता शक्ति बस्नेत, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत नेताको उपस्थिति रहेको छ ।
ताजा अपडेट
-
रसुवा बाढीबाट मृत्यु हुने ११ पुगे, ८६२ जनाको उद्धार
-
मुलुकको अर्थतन्त्रमा सुधार भएको छ : प्रधानमन्त्री ओली
-
अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !
-
‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’
-
ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना
प्रतिक्रिया