निषेधाज्ञाकै बीच आज पनि पोखरामा रास्वपाको विरोध कार्यक्रम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निषेधाज्ञाकै बीच पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा सोमबार पनि पोखरामा प्रदर्शन जारी राख्ने भएकाे छ ।
‘राजनीतिक प्रतिशोध साधेर पार्टी सभापति लामिछानेलाई पक्राउ गरिएको’ भन्दै शनिबार र आइतबार पोखरामा प्रदर्शन चर्किएपछि जिल्ला प्रशासन, कास्कीले त्यसलाई निस्तेज गर्न आइतबार पाँच जनाभन्दा बढी भेला हुन नपाउने गरी सहिदचोक र गैह्रापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरेकोमा रास्वपाले त्यसको बेवास्ता गर्दै प्रदर्शन जारी राख्न लागेको हो ।
विरोध कार्यक्रम अपराह्न १२ बजे पृथ्वीचोकमा गर्ने तय छ ।
रास्वपाले ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ भन्दै पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुक तथा आम नागरिकलाई विराेध कार्यक्रममा सहभागिता जनाइदिन आग्रह गरेको छ ।
रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले साेमबार बिहान एक पाेस्ट गर्दै ‘पोखरेली ऐक्यबद्धताका लागि अनुरोध’ गरेका छन् ।
संसदीय छानबिन समितिले गरेको अध्ययनले पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछाने प्रत्यक्ष संलग्न नभएको तर त्यहाँबाट आएको रकम परिचालनमा भने संलग्न रहेको निष्कर्ष निकाल्दै उनीलगायत संलग्न व्यक्तिविरुद्ध कारबाही गर्न सिफारिस गरेको छ । त्यसकै आधारमा दशैंअघि छविराज बञ्जाडे (जोशी) पक्राउ परिसकेका छन् भने जिल्ला अदालत, कास्कीको अनुमतिमा गत शुक्रबार ८ विरुद्ध पक्राउ पुर्जी जारी भएकोमा लामिछाने साेही दिन साँझ पक्राउ परिसकेका छन् । लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइएकोमा अनुसन्धानका लागि शुक्रबारबाटै लागू हुने गरी प्रहरीले ६ दिनको समय पाएकाे छ ।
रवि पक्राउपछि समाज विभाजित बनेको छ । सत्तापक्षले सहकारी ठगीको अभियोग लागेपछि अनुसन्धान हुनु स्वाभाविक भएको बताइरहेको छ भने रास्वपा पंक्तिले सहकारी ठगीमा संलग्न नहुँदानहुँदै पनि आफ्ना पार्टी सभापतिलाई झुटा मुद्दा लगाएर राजनीतिक प्रतिशोध साधिएकाे तर्क गरेकाे छ । सरकारले ज्यादति गरेको निचोड निकाल्दै रास्वपाले लामिछाने पक्राउयता पोखरासहित देशका विभिन्न भागमा प्रदर्शन नै गरिरहेकाे छ ।
ताजा अपडेट
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
-
मौसमी सागसब्जी बेचेर मासिक दुई लाख आम्दानी
प्रतिक्रिया