सिटामोल अभाव छैन: औषधि लिमिटेड

काठमाडौँ । बजारमा सिटामोल अभाव भएको भन्ने हल्ला मात्र रहेको नेपाल औषधि लिमिटेडले जनाएको छ । लिमिटेडका प्रबन्ध निर्देशक कैलाशकुमार पनेरुले सिटामोलको कुनै अभाव नरहेको र यसको नियमित उत्पादन पनि भइरहेको बताए ।
उनले भने, “हामीले नियमित उत्पादन गरिरहेका छौँ । दैनिक दुई सिफ्टमा काम भइरहेको छ । सिटामोलसँगै जीवनजललगायत अन्य औषधि पनि उत्पादन भइरहेको छ ।” उनका अनुसार दैनिक तीन लाख सिटामोल उत्पादन भइरहेको छ ।
“डेङ्गीका बेला पनि सिटामोल पाइएन भन्ने सुनिएपछि सूचना निकालेका छौँ । हामीसँग जति खरिदका लागि आउनुभएको छ, दिएका छाैँ । खरिद बिक्रीको अनुपात हेर्ने हो भने सन्तुलित छ”, प्रबन्ध निर्देशक पनेरुले भन्नुभयो । सिटामोलको अभाव रहेको भन्ने विभिन्न माध्यमबाट गुनासो आएकाले लिमिटेडले बिहीबार एक सूचना जारी गरी सोबारे ध्यानकर्षण गराएको थियो ।
खरिदका लागि सम्पर्क गर्नुहुने लिमिटेडका सबै भण्डारणकर्ता, सरकारी अस्पताल तथा तीनै तहका सरकार मातहतका स्वास्थ्य आपूर्ति व्यवस्थापन निकायलाई मागअनुसारको परिमाणमा सिटामोलको तत्काल आपूर्ति गर्दै आइरहेको सूचनामा उल्लेख छ ।
लिमिटेडले पछिल्लो समय बढिरहेको डेङ्गीको सङ्क्रमणलाई लक्षित गर्दै सर्वसाधारणका लागि सिटामोल सहज रुपमा उपलब्ध गराउने उद्देश्यले काठमाडौँ, बबरमहलस्थित बिक्री महाशाखाको काउन्टरबाट जोकोहीले आवश्यकता अनुसारको खरिद गर्नसक्ने व्यवस्था मिलाएको छ । उक्त काउन्टरबाट बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सिटामोल खरिद गर्नसक्ने लिमिटेडले जनाएको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया