NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

कैलाली र कञ्चनपुरमा गिद्धको गुँड अनुगमन

कञ्चनपुर । प्रकृतिको कुचिकार गिद्धको कैलाली र कञ्चनपुरमा आजदेखि गुँड अनुगमनको कार्य सुरु गरिएको छ ।

वार्षिक कार्यक्रमअनुसार नेपाल पन्छी संरक्षण सङ्घले गिद्धको गुँडको अवस्था अध्ययनका लागि अनुगमनको कार्य सुरु गरेको हो । गिद्धका गुँड अनुगमनका लागि सङ्घका पदाधिकारी, कर्मचारी र स्वयंसेवक खटिएका छन् ।

“राष्ट्रियस्तरमै प्रत्येक वर्षको यसै दिनदेखि गिद्धको अवस्था, गुँडको अवस्था, बासस्थानबारे अध्ययन अनुगमनको कार्य हुँदै आएको छ”, सङ्घका चराविज्ञ हिरुलाल डगौराले भने, “यसै अवसरमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गिद्धको गुँडको अवस्थाबारे अनुगमनको कार्य गरिरहेका छौँ ।”

उनका अनुसार कैलालीको खुटिया, बेली, जोनापुर र फकलपुर तथा कञ्चनपुरको लालझाडी, पर्सिया, कञ्ज, बन्साहा, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गिद्धका गुँड अनुगमनको कार्य भइरहेको छ ।

कैलाली र कञ्चनपुरमा अनुगमनको कार्य पूरा भएपछि डडेल्धुरा र बैतडीमा पनि गिद्धको गुँड तथा अवस्थाका बारेमा अध्ययन अनुगमनको कार्य हुने उनले बताए ।  गिद्धका गुँड अनुगमनका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालयसँग समन्वय गरिएको चराविज्ञ डगौराको भनाइ छ ।

“क्यामेरा, बाइनाकुलर, टेलिस्कोप, जिपिएसको प्रयोग गरी अनुगमनको कार्य गर्छौं”, उनले भने, “यसबाट गुँड के कति छन् भन्ने जानकारी हुन्छ नै गिद्धको सङ्ख्या यकिन गर्ने कार्य पनि हुन्छ ।”

गत वर्षको अनुगमनमा कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडीमा गरी डङ्गर, सानो खैरो, सेतो, हाडखोर, हिमाली र सुन गिद्धका गरी एक सय ४३ गुँड फेला परेका थिए । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) ले डङ्गर, सानो खैरो र सुन गिद्धलाई अति सङ्कटापन्न तथा सेतो गिद्धलाई सङ्कटापन्नको सूचीमा सूचीकृत गरेको छ ।

विश्वमा २३ प्रजाति र नेपालमा नौ प्रजातिका गिद्ध पाइन्छन् । गिद्धले आफैँले सिकार नगरी मरेका जनावरको सिनो मात्रै खाने भएकाले यसलाई अहिंसक मांसाहारी पन्छीका रुपमा लिइने गरिन्छ ।

सिनो खाने भएकाले यसले पर्यावरण सन्तुलित राख्नमा मद्दत पु-याउने गर्दछ । एक सर्भेक्षणअनुसार गिद्धले सिनोको खोजीमा दैनिक एक सय किलोमिटरको रेडियसको दूरीमा उड्ने गरेको पाइएको छ ।