NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

किन संघर्षमा छन् आवासीय चिकित्सक ?

काठमाडौं । आवासीय चिकित्सकहरूले संघर्षका कार्यक्रम बढाउँदै लगेका छन् ।

सरकारी चिकित्सक सरह पारिश्रमिक र सुविधा माग गर्दै आइरहेका आवासीय चिकित्सकहरूले शुक्रबारबाट थप संघर्षका कार्यक्रम गर्न लागेका हुन् ।

चरम श्रम शोषण र आत्मसम्मानमाथिको निर्मम प्रहारविरुद्ध विरोधका कार्यक्रम सञ्चालन गर्न लागेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिले जनाएको छ ।

त्यसअन्तर्गत शुक्रबार आवासीय चिकित्सकहरूले पेनडाउन गर्दैछन् । शुक्रबार बिहान ९ बजेदेखि १० बजेसम्म आफू कार्यरत अस्पतालमा पेनडाउन र एप्रोनसहित प्रदर्शन गर्न लागिएको हो ।

त्यस्तै, शुक्रबार नै आवासीय चिकित्सकहरूले काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शन गर्दैछन् । संघर्ष समितिको आयोजनामा दिउँसो १ बजे त्यहाँ विरोध प्रदर्शन गर्न लागिएको हो ।

इन्टर्न तथा एमडी, एमएस, एमडीएस, डीएम र एमसीएच अध्ययनरत चिकित्सकहरूले लामो समयदेखि न्यायोचित सेवा सुविधाको माग गर्दै आइरहेका छन् । सरकारी चिकित्सकसरह सेवा सुविधा दिनुपर्नेमा त्यसो नगरी चरम श्रमशोषण गरिएको उनीहरूको आरोप छ ।