बालीनालीमा छरेको विषादीले मौरी सखाप

रामपुर । घर वरपरका बगैँचा, आँगनका छेउमा लहरै राखिएका मौरीका घार छन् । बिहान उज्यालो भएदेखि साँझ अबेरसम्म घार वरिपरि नै बस्न मन पराउने जयनारायण न्यौपाने अहिले भने घार देख्दा विक्षिप्त छन् ।
मौरीघार उनको आम्दानीको स्रोत मात्र नभई दिन बिताउने माध्यम बनेको थियो । घारसँग रमाउँदै दिन कटाउने उनलाई घार देख्दा मन भारी भएर आउँछ । रामपुर नगरपालिका–६, किसानटोलका किसान न्यौपाने घारमा रहेका मौरी मरेर सखाप भएपछि चिन्तित छन् ।
एक्कासि मौरी मरेपछि उनलाई व्यवसाय निल्नु न ओकल्नुजस्तै बनेको छ ।
“बगैँचाभरि मौरीको हेरचाह गरेर समयको गएको पत्तो हुँदैनथ्यो, अहिले मौरी सबै मासिएपछि घरमा दिन कटाउन गाह्रो भएको छ,” उनले भने, “हिजोका दिन खाना खाने समयबाहेक बगैँचामा नै बसेर दिन बिताउँथे, घरमा कोही आफन्त, साथीभाइ, इष्टमित्र आए पनि बगैँचातिर डुलाउँथे, अहिले बगैँचाभित्र पस्न पनि मन छैन, मौरीघार रित्ता देख्दा मन खिन्न भएर आउँछ ।”
छिमेकीले बालीनालीमा विषादी छरेका कारण फार्ममा भएका मौरी मरेर करिब रु सात लाख बराबरको नोक्सानी व्यहोर्नुपरेको उनी बताउँछन् ।
विषादीले ८५ गोलाघारमा तयार गरिएको मौरी सबै क्षति हुन पुगेको उनले सुनाए । विसं २०५५ देखि ‘न्यौपाने मौरी उद्योग’ स्थापना गरेर मौरी उद्योग सञ्चालन गर्दै आएका न्यौपानेले पहिलोपटक ठूलो क्षति व्यहोर्नुपरेको जनाए ।
यस वर्ष उनी ६० घार गोलासहित मौरी बिक्री गर्ने तयारीमा थिए । विभिन्न ठाउँबाट मौरी तयार हुनुअगावै माग आइसकेको थियो । तर पठाउने तयारी गरिरहेको अवस्थामा एक्कासि मौरी सबै नष्ट हुन पुगेको छ ।
“छिमेकीले खेतबारीमा विषादी छर्कँदा मौरीमा ठूलो क्षति पुगेको छ, व्यवसायका क्रममा पहिलो पटक यस्तो क्षति भोग्नुपरेको छ,” उनले भने ।
विषादीका कारण गत फागुनको पहिलो हप्ताबाट मौरी मर्न थालेको उनले बताए ।,
“मौरीको परागसेसनले बाली तथा बिरुवालाई राम्रो बनाउँछ, चरनका लागि मौरी बिहान ३ः३० बजे नै निस्केर ९ः०० बजे घारमा आएर बस्छन्, बिहानको समयमा बालीबिरुवामा विषादी छर्कँदा लगत्तै चर्न जाने भएकाले रस सेवनले मौरी मासिएको छ, साँझ ५ः०० बजेपछि विषादी प्रयोग गरेको भए कम क्षति हुन्थ्यो,” उनले भने ।
मह बिक्रीबाट न्यौपानेले वार्षिक रु पाँच लाखदेखि छ लाखसम्म आम्दानी गर्दै आएका छन् भने सरदरमा ८० गोलासहितको घार बिक्री गर्दै आएका थिए । गोलासहित एक घारको रु नौ हजार, खाली घारलाई रु पाँच हजारमा बिक्री भइरहेको छ । गोलासहित बिक्री गर्दा व्यवसायीलाई फाइदा हुने गरेको उनको अनुभव छ।
पाल्पा, स्याङ्जा, तनहुँ, नवलपरासी, गुल्मी, झापालगायत विभिन्न जिल्लामा यहाँबाट मौरी तथा घार पठाउने गरिएको छ । उद्योगमा नै मौरीघार तयार पारिने भएको हुँदा विभिन्न जिल्लाबाट घार खरिद गर्न आउने गरेका छन् । मौरीलाई जोगाउन स्थानीय निकायबाट किसानलाई चेतनामूलक कार्यक्रम ल्याउन उनको माग छ । मौरीपालन क्षेत्र अध्ययन गरेर कुन समयमा विषादी छर्कँदा उपयुक्त हुन्छ, त्यसबारेमा किसानलाई सुसूचित गराउन पूर्वजानकारी दिइयो भने किसानले पनि उपयुक्त समयमा विषादी प्रयोग गर्ने उनको भनाइ छ ।
प्रतिक्रिया