कृषक पाठशाला : प्राङ्गारिक खेतीतर्फ किसानको उत्साह

म्याग्दी – बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम बोकेर पस्छन्। सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन भए पनि थापा भने कृषिखेतीको सिकाइका लागि औजारसँगै कापीकलम बोकेर खेतबारीमा पुग्छन्।
गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाजस्तै गरी कृषि पढिरहेका छन्। बेनी नगरपालिकाले किसानलाई प्राङ्गारिक उत्पादनको ज्ञान, सीप र क्षमता विकास गर्न एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन गरेपछि यहाँका किसान साप्ताहिक रूपमा खेतबारीमा हुने पाठशालामा पढ्न पुग्छन्।
आनन्दबगर आइपिएम कृषक पाठशालामा आबद्ध सदस्यले सामूहिक रूपमा गोलभेंडाखेती गरेका छन्। व्यावहारिक रूपमा उचित बीउ छनोट, नर्सरी र खेती गर्ने जमिनको व्यवस्थापन, बाली लगाउने तरिका, मलजल, गोडमेल र फल उत्पादनपछि टिप्नेसम्मका ज्ञान, सीप पाठशालामा सिकाइन्छ। बीउ जमाउने र बिरुवा लगाउनेदेखि फल टिप्नेसम्मका ज्ञानसँगै रोगकीराको स्थानीय उपचारबारे सैद्धान्तिक र व्यावहारिक ज्ञान सिक्ने अवसर मिलेको स्थानीय किसान सरिता बानियाँ खड्काले बताए।
‘खेती गर्ने आधारभूत सीप सिक्न आइपिएम कृषक पाठशाला निकै प्रभावकारी भयो, रोगकीराको पहिचान र उपचारको तरिका र उपायसमेत सिक्यौं,’ बानियाँले भने। यहाँका किसानलाई टनेल र खुला ठाउँमा गोलभेंडाखेती गर्न व्यावहारिक तालिम दिइएको छ। पुसदेखि सुरु भएको पाठशालामा किसानले सामूहिक रूपमा लगाएको गोलभेंडा अहिले उपभोगयोग्य भएको छ। उत्पादित गोलभेंडा पाठशालामा सहभागी किसानले बाँडेर उपभोग गर्छन् र धेरै उत्पादन भए बिक्री गर्ने लक्ष्य छ।
बेनी नगरपालिका–४ डाँडाखेतको गोलभेंडाखेतीमा पनि आइपिएम कृषक पाठशाला सञ्चालित छ। यहाँका किसानले तालिममा सिक्दै सामूहिक रूपमा लगाएको गोलभेंडा लटरम्म फलेका छन्। आधुनिक खेती प्रविधि र रोगकीराको उपचारमा अग्र्यानिक विधिबारे जानकारी पाएपछि किसान उत्साहित छन्। एउटा बाली विशेषमा किसानलाई निपुण बनाउन पाठशाला सञ्चालित छ। खेतबारीमा हुने पाठशालामा किसानको हातबाट बीउ जमाउने, बिरुवा रोप्ने, गोडमेल र स्याहार गरेर फलेको फल उपभोग र बजारीकरणसम्मको काम हुने भएकाले यो पाठशाला उपयोगी बन्दै गएको छ।
बेनी नगरपालिकाले यस वर्ष वडा नं १ आनन्दबगरमा गोलभेंडा, २ गौश्वारामा काउली, ३ भकिम्लीमा अकबरे खुर्सानी, ४ डाँडाखेतमा गोलभेंडा, ६ डम्मरामा कोसेबाली सिमी, ५ पुलाचौर र ९ घतानमा आलुखेतीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ। हरेक बालीमा १८ देखि २२ हप्तासम्म किसानलाई खेतबारीमा व्यावहारिक र सैद्धान्तिक ज्ञान दिइएको कृषि अधिकृत आकृति ढुङ्गानाले बताए। ‘पाठशालामा सहजकर्ताले विषादीरहित उत्पादन र जैविक मलको प्रयोग बढाउन सिकाएका छन्। नगरपालिकाले पाठशालालाई फरक ठाउँमा निरन्तरता दिँदै आएको छ। किसानलाई दक्ष बनाएर स्वस्थ बाली उत्पादन गर्न यो कार्यक्रमले प्रेरित गर्छ,’ ढुङ्गानाले भने।
पाठशाला सञ्चालनका लागि नगरपालिकाले हरेक समूहलाई रु एक लाख ५० हजार बजेट विनियोजन गरेको छ। पाठशालामा अगुवा किसान सोवित शर्मा, क्षेत्रबहादुर कटुवाल र हरिराम पौडेलले सहजकर्ताको भूमिका निभाएका छन्। हरेक समूहमा साताको एक दिन चार घण्टा पाठशाला सञ्चालित छ।
पाठशालामा स्थानीयस्तरमा उपलब्ध प्राङ्गारिक मल, गाईभैंसीको मूत्र र जैविक विषादी प्रयोगबाट रोगकीरा व्यवस्थापन गर्न व्यावहारिक अभ्यास गराइन्छ। तरकारीखेतीसँगै धान, मकै, गहुँ, सुन्तला, कागतीलगायत फलफूलमा आइपर्ने समस्या र रोगकीरा व्यवस्थापनमा जैविक विषादी प्रयोगबारे किसानलाई सिकाइएको छ।
रोगकीराको उपचारमा प्राङ्गारिक विधि प्रभावकारी
बेनी नगरपालिका–६ डम्मराका किसानले खेतीबालीमा लाग्ने रोगकीराको उपचारमा रैथाने सीप र विधि प्रयोग गर्न थालेका छन्। पाठशालामा व्यावहारिक ज्ञान र सीपको क्षमता विकास गरेर किसानले स्थानीय वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरेका छन्।
पाठशाला सञ्चालनका लागि एक रोपनीमा गरिएको कोसेबालीमा देखिएका रोगकीराको समस्या समाधान गर्न प्याजको पात, केतुकी, पाती, असुरोलगायत तितो, पिरो, टर्रो र अमिलो वनस्पति र वस्तुभाउको मूत्रबाट जैविक विषादी बनाएर प्रयोग गरिएको स्थानीय झरना थापाले बताए।
‘पहिले खेतीबालीमा समस्या भए बजारबाट विषादी किन्थ्यौं। अहिले सिमीमा लागेको रोगकीरामा वनस्पति झोल प्रयोग गर्यौं। समस्या हल भयो, नगद खर्च पनि भएन,’ उनले भने। वनस्पति विषादीले कृषि उपज स्वस्थकर हुन्छ। पाठशालापछि गाउँघरका स्रोत र साधन प्रयोग गरेर उत्पादन बढाउने र रोगकीराको उपचार गर्ने ज्ञान हासिल भएको किसान पशुपति भण्डारी खत्रीले बताए।
हरेक बिहीबार चार घण्टा डम्मरा माझखेत कृषक पाठशाला सञ्चालित छ। तालिममा सिमी र बोडीसँगै आलु र अन्नबालीको बीउ लगाउनेदेखि फल उत्पादनसम्म सिकाइ भएको कमला परियारले बताए। किसानलाई व्यावहारिक सिकाइका लागि भट्टेसिमी, एसनाइन सिमी, हाइब्रिड सिमी, मिटरबोडी, मालेपाटन बोडीखेती गरिएको छ। उत्पादन भएपछि किसानले घरायसी प्रयोगदेखि बिक्री गरेर आम्दानी गर्न थालेका छन्।
रासायनिक विषादी: बिख हो, औषधि होइन
बेनी नगरपालिकाले पाठशालालाई बीउ र जग्गा छनोटदेखि प्राङ्गारिक बाली उत्पादनमा सीप र ज्ञान आर्जन गर्ने थलो बनाएको छ। खेतीबालीमा रोगकीराको उपचारमा रासायनिक विषादीको प्रयोग बढ्दा किसानदेखि उपभोक्ताको स्वास्थ्यमा समस्या आएको सन्दर्भमा पाठशालाले प्राङ्गारिक खेतीलाई जोड दिएको सहजकर्ता सोवित शर्माले बताए।
‘खेतीबालीको रोगकीराको उपचारका लागि बजारको विषादी बिख हो, औषधि होइन भन्ने बुझाइ किसानमा बनाउन पाठशालाले भूमिका खेलेको छ। हामीले रोगकीराको पहिचान गरेर स्थानीयस्तरमा बनाउन सकिने जैविक विषादी प्रयोग गर्न प्रेरित गरेका छौं। स्वस्थ कृषि उपजले स्वस्थ नागरिक बनाउन सघाउँछ,’ शर्माले भने।
बजारमा आयातित तरकारी र फलफूलमा प्रतिबन्धित विषादी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याएको छ। रोगकीराको महामारी आएको अवस्थामा मात्र सुरक्षित विषादी प्रयोग गर्ने र प्रयोगपछि कृषि उपज तत्काल उपभोग नगर्ने सन्दर्भमा किसानलाई जानकारी दिइएको सहजकर्ता क्षेत्रबहादुर कटुवालले बताए।
पाठशालामा जैविक विषादी बनाउने प्रयोगात्मक सीप सिकाइएकाले नगरपालिका क्षेत्रमा प्राङ्गारिक कृषि उत्पादनको लहर ल्याउने अपेक्षा गरिएको उनले बताए। कोठाभित्रको तालिम औपचारिकतामा सीमित हुने सन्दर्भमा खेतबारीलाई पाठशाला बनाएर सञ्चालित आइपिएम कृषक पाठशाला किसानलाई व्यावहारिक ज्ञान र सीप विकास गर्ने उपयुक्त थलो बनेको छ।
ताजा अपडेट
-
ग्वार्को फ्लाइओभरको उद्घाटन, प्रधानमन्त्रीले भने-‘देशमा बहुआयामिक र चौतर्फी ढंगले विकास गर्दैछौँ’
-
सञ्चालनमा आयो ग्वार्को ओभरपास, सवारी जाम घट्ने
-
डोटीमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ४ घाइते
-
बीपी राजमार्गमा राति गाडी चलाउन रोक
-
प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श
प्रतिक्रिया