अर्थमन्त्री पौडेलको दाबी-‘बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार आएको छ’

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार बजेट आएको बताएका छन् ।
राष्ट्रिय सभाको बैठकमा सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री पौडेलले बजेट तजबिज ढंगले होइन, प्रणाली अन्तर्गत निर्माण भएको जानकारी दिएका हुन् ।
उनले बजेट कर्मकाण्डीका रूपमा नभई तथ्यपरक रूपमा आएको र संसद्ले पारित गरेपछि कार्यान्वयनमा जाने बताए ।
अर्थमन्त्री पौडेलले ऋणको दायरा असीमित नहोस् भनेर सरकार सचेत रहेको, उत्पादन र पुँजीगत खर्चमा सदुपयोगका लागि विशेष ध्यान दिने बताए ।
करको दायरा विस्तार, चुहावट नियन्त्रण, सूचना प्रविधिमा आबद्धता, राजस्व प्रशासनलाई प्रभावकारी लगायतका कार्य गरी राजस्वको लक्ष्य हासिल गर्ने अर्थमन्त्रीको भनाइ छ ।
नेपाल ग्रे लिष्टबाट बाहिर निस्कनु पर्ने, सम्पत्ति शुद्धिकरणमा ध्यान दिनुपर्ने उल्लेख गर्दै अर्थमन्त्री पौडेलले विलासिता करमा थ्रेस होल्ड हटाइएको, सुनका गहना कारोबारमा संलग्न व्यवसायीहरूको गुनासोबारे छलफलमा रहेको र छलफलबाटै साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे ।
अर्थमन्त्री पौडेलले बजेट निर्माण प्रक्रियामा सांसदहरूले दिएका सुझावहरूलाई पनि ख्याल गरिएको बताए ।
प्रतिक्रिया