एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने
काठमाडौ- एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने भएको छ। उक्त खेल मलेसियामा शनिबार बिहान ७ः४५ बजे सुरु हुनेछ।
नेपालले आज भएको सेमिफाइनल खेलमा मलेसियालाई ९ विकेटले पराजित गर्दै प्रतियोगिताको फाइनलमा स्थान बनाएको हो। मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११ दशमलव चार ओभरमा एक विकेट गुमाएर पूरा गर्यो।
यस्तै, सिङ्गापुरले हङकङलाई ४ विकेटले हराएर नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो। हङकङले दिएको एक सय ६९ रनको लक्ष्य सिङ्गापुरले ३८ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
नेपालले यसअघि समूह चरणको खेलमा सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो। समूह चरणमा नेपालले भुटानलाई दुई सय ९८ रनले तथा इन्डोनेसियालाई तीन सय ७० रनले पराजित गरेको थियो।
यसैगरी सिङ्गापुरले समूह चरणका खेलमा भुटानलाई दुई सय २६ रनले, जापानलाई तीन विकेटले तथा इन्डोनेसियालाई नौ विकेटले पराजित गरेको थियो।
नेपाल समूह चरणका चारवटै खेल जितेर समूह ‘ए’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो। उक्त समूहबाट दोस्रो स्थानमा रहँदै सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको हो। यस्तै, समूह ‘बी’बाट हङकङ शीर्ष स्थानमा रहँदै तथा मलेसिया दोस्रो स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेका थिए।
नेपाल प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन हो। नेपालले सन् २०२३ मा भएको प्रतियोगितामा फाइनलमा मलेसियालाई हराउँदै उपाधि जितेको थियो।
एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपालसहित १० राष्ट्र सहभागी थिए। समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भुटान र जापान तथा समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका थिए।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया