NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १९ गते

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई सेवाप्रदायक र नियामक निकायमा स्पष्ट रूपमा विभाजन नगरेसम्म नेपालको हवाई सुरक्षा प्रणाली सुदृढ नहुने विज्ञहरूले औंल्याएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बुधबार सिंहदरबारमा बसेको बैठकमा विज्ञहरूले क्यानको विद्यमान संरचनामाथि पुनरावलोकन गर्दै संरचनागत सुधारलाई अपरिहार्य बताएका हुन्।

क्यानका पूर्वमहानिर्देशक सञ्जीव गौतमले क्यानको अहिलेको संरचना सेवा प्रवाह केन्द्रित रहेको र नियमन पक्ष कमजोर भएकाले सुरक्षा चुनौती थपिएको बताए। “फङ्सनल सेपेरेसन स्पष्ट नहुँदा नियामकको भूमिका प्रभावकारी बन्न सकेको छैन,” गौतमले भने, “एकै छातामुनि भए पनि सेवा र नियमनबीच स्पष्ट भिन्नता हुनुपर्छ।”

हवाई विज्ञ डा. दीपक बास्कोटाले हवाई सुरक्षा प्रणाली सुदृढ गर्न सेवाप्रदायक निकाय र नियामक निकाय छुट्टाछुट्टै स्थापना गर्नुपर्नेमा जोड दिए। “क्यान आइसोलेसनमा बस्न सक्दैन, संरचनागत विभाजन अब अपरिहार्य छ,” उनले बताए। बास्कोटाले संरचनागत सुधार भए युरोपेली संघको सेफ्टी सूचीबाट नेपाल हट्ने सम्भावना रहेको विश्वाससमेत व्यक्त गरे।

बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि छलफल गर्दै समितिले विज्ञहरूबाट राय सुझाव संकलन गरेको थियो। सुझावका क्रममा समितिमा मन्त्रालयका सहसचिवभन्दा विषय विज्ञलाई प्राथमिकता दिनुपर्ने, नियमनकारी निकायमा प्राविधिक क्षमता अभिवृद्धि गर्नुपर्ने लगायत सल्लाहहरू पनि उठाइएका थिए।

समितिका सभापति राजकिशोर यादवले दुवै विधेयकलाई टुंगोमा पुर्‍याउन सरोकारवालासँग छलफल जारी रहेको र चाँडै दफावार छलफल अघि बढाइने बताएका छन्। समितिका अधिकांश सदस्यहरूले पनि विधेयक पारित प्रक्रिया शीघ्र गर्नुपर्नेमा एकमत जनाएका थिए।

ताजा अपडेट

नेपालवाच विशेष