NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

भिजिट भिसा प्रकरणमा रास्वपाको अडान यथावत्, प्रतिरोध कायम गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा पार्टीले लिएको अडान यथावत् रहेको जानकारी गराउँदै संसदमा भइरहेको प्रतिरोध कायम गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रकरणमा छानबिन आयोग बनाउनुपर्ने, गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने लगायतका निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

त्यस्तै, संघीय निजामती विधेयकको कुलिङ पिरियडको व्यवस्थामा भएको गडबडीमा संसदीय छानबिन समिति बनाउनुपर्ने माग पार्टीले राखेको छ ।

‘कानुन बनाउने विधायकी स्वतन्त्र भूमिकामा आँच आउने गरी भएको यस्तो खालको बदमासीपूर्ण छलछामको गतिविधिलाई अन् देखा नगरी, यस कार्यमा संलग्नहरूलाई छानबिन गरी दोषीमाथि कारबाही गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने माग राख्दछ,’ बैठकका निर्णयमा भनिएको छ, ‘संसद्को यो विधायकी भूमिकामा कुनै पनि चलखेल सहय नहुने कुरामा राष्ट्रिय स्वतन्त्र पार्टी स्पष्ट छ ।’

त्यस्तै, रुपन्देही-३ मा हुने उपनिर्वाचनका लागि पार्टीको तर्फबाट योग्य उम्मेदवार छनोटका लागि छलफल भएको झाले बताएका छन् ।

प्राप्त सुझावहरू समेतलाई समेटेर आगामी आइतबार हुने सचिवालय बैठकमा उम्मेदवार छनोट कार्यविधि अनुमोदनको लागि प्रस्तुत गर्ने निर्णय भएको रास्वपाले बताएको छ ।

पार्टीका सबै केन्द्रीय विभागहरूलाई चलायमान बनाउने, विभागहरूको रिक्त पदपूर्तिको लागि विभाग प्रमुखले पहल लिनु पर्ने, २०८२ असार मसान्त सम्मको कार्यसम्पादन प्रतिवेदन २०८२ श्रावण ७ गते भित्र पेस गर्न निर्देशन दिने निर्णय पनि भएको छ ।

‘प्रदेशमा गठन गर्नु पर्ने विभागहरू असार मसान्त सम्म गठन गर्न केन्द्रीय विभाग प्रमुखले पहल लिनु पर्ने निर्णय भएको छ,’ प्रवक्ता झाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, पार्टीको संगठन विभागमा तीन जना सदस्य मनोनीत भएका छन् । प्रमीला भुसाल, चितवन, सुशील अधिकारी, दाङ र मानकुमार लामा, चितवनलाई मनोनीत गरिएको हो ।