त्रिविको जग्गामा १८ संस्थाको रजाइँ, ओलीले लुकाएको प्रतिवेदन सार्वजनकि
काठमाडौं । सोमबार संघीय राजधानी काठमाडौंबाट प्रकाशित दैनिक अखबारहरूले त्रिभुवन विश्वविद्यालयको जग्गा दुरूपयोग सम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाएका छन् । त्यस्तै, सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेको, युएईमाथि रोमाञ्चक जित हात पार्दै नेपालले विश्वकप यात्राको सम्भावना बलियो पारेको, जेनजी आन्दोलनमा अज्ञात समूहको सक्रियताले संशय पैदा गरेको, एमाले सचिवालय बैठकले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै कानूनी उपचारमा जाने निर्णय लिएको लगायत विषयलाई पनि पत्रपत्रिकाहरूले उत्तिकै महत्त्वका साथ साेमबार छापेका छन् ।
नयाँ पत्रिका दैनिकले त्रिभुवन विश्वविद्यालयको विभिन्न स्थानमा रहेका पाँच हजार ५० रोपनी तीन आना एक पैसा एक दाम जग्गामध्ये ८४३ रोपनी जग्गा विभिन्न संघ–संस्थाले कब्जा गरेको लेखेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गठन गरेको छानबिन समितिले दिएको प्रतिवेदनमा टेकेर नयाँ पत्रिकाले मुख्य समाचार लेखेको हो ।
त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन समितिले साँढे ५ महिना लगाएर गरेको छानबिन प्रतिवेदन २ पुस ०८१ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको थियो । तत्कालीन शिक्षा मन्त्री विद्या भट्टराई उक्त प्रतिवेदन कार्यान्वयनमा लैजान चाहन्थिन् । यसका लागि भट्टराईले अग्रसरता लिएपछि ओलीले त्यसलाई रोकेको थिए । यही कारण शिक्षक आन्दोलनमा ओलीबाट असहयोग झेलेकी भट्टराईले पदबाट राजीनामा दिएकी थिइन् । ओली सरकारले रोकेको उक्त बहुप्रतिक्षित प्रतिवेदन शिक्षा मन्त्री महावीर पुनले सार्वजनिक गरेका हुन् ।
समाचार अनुसार कृषि बागबानी केन्द्रले २८१ रोपनी, प्यानेटोरियम तथा अब्जरभेटरीले १६० रोपनी, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले १०७ रोपनी, नेपाल क्रिकेट संघ, ग्लोबल आइएमई बैंक, लायन्स क्लब इन्टरनेशनलको रक्तसञ्चार केन्द्रले त्रिविको ७६ रोपनी ४ आना ३ दाम जग्गा कब्जामा लिएको पाइएको छ ।
त्यस्तै, आयुर्वेद अनुसन्धान तथा तालिम केद्रले २५ रोपनी, राधास्वामी सत्संग ब्यास नेपालले १५ रोपनी, नेत्रज्योति संघले १० रोपनी, नेपाल प्राध्यापक संघले ६ रोपनी, महानगरीय प्रहरी वृत्त कीर्तिपुरले ५ रोपनी, महानगरीय प्रहरी वृत्त, कालीमाटीले ४ रोपनी कब्जामा लिएका छन् । यसबाहेक त्रिवि प्राध्यापक संघ, त्रिवि कर्मचारी संघ, नेपाल बैंक लिमिटेड , कीर्तिपुर बसपार्कलगायतले पनि त्रिविको जग्गा भोगचलन गरिरहेको भेटिएको छ ।
सरकारी मुखपत्र गोरखापत्रले पनि खोजबिन समितिको प्रतिवेदनले औंल्याएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ । ‘त्रिविको जग्गामा अठार संस्थाको रजाइँ’ शीर्षकमा गोरखापत्र लेख्छ– मुलुककै सबैभन्दा ठूलो र पुरानो त्रिभुवन विश्व्विद्यालयको चल तथा अचल सम्पत्ति लथालिङ्ग रहेको सरकारी प्रतिवेदनले औंल्याएको छ । आफ्नो नाममा कति जग्गा र भौतिक संरचना छन् भन्ने विषयमा समेत त्रिवि अनभित्र रहेको त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिको प्रतिवेदन, २०८१ ले प्रष्ट पारेको छ ।’ समाचार अनुसार विश्वविद्यालयकै पदाधिकारी र कर्मचारीको मिलेमतोमा विभिन्न स्वार्थ जोडिएको संस्थाले आफूखुसी ती जग्गा प्रयोग गरिरहेको पाइएको छ ।
त्रिविको जग्गा अतिक्रमण भएको विषयलाई कान्तिपुरले तेस्रो पृष्ठमा कभरेज गरेको छ । त्रिविको उक्त जग्गा संरक्षण नहुनुमा तत्कालीन प्रधानमन्त्री, शिक्षामन्त्रीदेखि उपकुलपति, रजिष्ट्रारलगायत जिम्मेवार रहेको कान्तिपुर समाचारको ठहर छ ।
सुन तस्करीमा तानिए महरा
सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेको विषयलाई पनि आजका अखबारहरूले नछुटाइकन छापेका छन् ।
डेढ वर्षअघि यही प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार ललितपुरबाट नियन्त्रणमा लिएको हो ।
नयाँ पत्रिकाका अनुसार सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महराको नजिकको सम्बन्ध देखिएको छ ।
पक्राउ परेका महरामाथि भन्सार ऐन र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कान्तिपुरले लेखेको छ । कान्तिपुरका अनुसार यो प्रकरणमा महरासँगै पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पनि अनुसन्धानमा तानिएका छन् ।
महरा पक्राउको विषयलाई पहिलो पृष्ठमा समाचार बनाएर छापेको गोरखापत्रले त्रिभुवन विमानस्थलबाट भेपमार्फत सुन भित्राउन संलग्न चिनियाँ नागरिक लुई होनसोङ र दाओनिज वाङसँग उपाध्यक्ष महरा र उनका छोरा राहुलको निरन्तर संवाद भएको टेलिफोन रेकर्डले देखाएको उल्लेख गरेको छ ।
नेपाल विश्वकप नजिक
नेपालले आइबार युएईविरुद्ध निकालेको रोमाञ्चक जितलाई पनि आजको अखबारहरूले प्राथमिकतापूर्वक प्रकाशित गरेका छन् ।
एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी युएईलाई मात्रै एक रनले स्तब्ध पारेको थियो ।
नयाँ पत्रिकाले यो जितसँगै नेपाल विश्वकप नजिक पुगेको लेखेको छ । समाचारअनुसार युएईविरुद्ध रोमाञ्चक एक रनको जित निकालेसँगै नेपालको आगामी वर्ष भारत र श्रीलंकामा आयोजना हुने आइसिसी पुरुष विश्वकपको सम्भावना बढेको छ । तर त्यसका लागि सोमबार कतारविरुद्ध हुने खेलमा नेपालले जित दर्ज गर्नुपर्नेछ ।
यही समाचारलाई गोरखापत्रले ‘युएईविरुद्ध नेपाल एक रनले विजयी’ शीर्षकमा लेखेको छ भने कान्तिपुरले युएईमाथिको सनसनीपूर्ण जितले नेपाल विश्वकपतर्फ अघि बढेको निष्कर्ष निकालेको छ ।
आन्दोलनमा देखिएको अज्ञात समूहको सक्रियताले संशय
जेनजी आन्दोलनमा देखिएका अज्ञात समूहका कारण समाजमा संशय पैदा भएको विषयलाई मुख्य समाचार बनाएर छापेको छ ।
यही भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी समूहको शान्तिपूर्ण प्रदर्शनमा नकाव लगाएका, तिओबी लेखिएको पोशाक लगायत शंकास्पद व्यक्ति सहभागी भएका थिए ।
आन्दोलनमा देखिएका यस्ता अनेक दृश्य र समूहमाथि त्यति बेलैदेखि अनेक प्रश्न उठे पनि प्रहरीले ढिलो गरी अनुसन्धान थालेको कान्तिपुरले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया