NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

राष्ट्रिय गौरवको आयोजनामा अलमल : कालीगण्डकी करिडोर अधुरो

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत मालढुङ्गा–बलेवा खण्ड समयमै कालोपत्र नहुँदा यात्रीलाई समस्या भएको छ ।

करिडोरको बागलुङ खण्डमा पर्ने ३४ किलोमिटरमध्ये २४ किलोमिटर कालोपत्र भए पनि बाँकी १० किलोमिटर अझै कालोपत्र भएको छैन ।

निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति नहुँदा दक्षिण बागलुङसहित मुक्तिनाथ जाने पर्यटक प्रभावित भएका छन् ।

उक्त सडक दुई वर्षभित्र कालोपत्र गर्न पाँच वर्षअघि निर्माण कम्पनीसँग सम्झौता भएको थियो । गत जेठमा पुनः समयावधि थपिए पनि काम नभकामा सर्वसाधारण रुष्ट छन् ।

चालु आर्थिक वर्षभित्र काम पूरा नगरे कारबाही हुने कालीगण्डकी करिडोर आयोजना कार्यालयका इन्जिनियर होमनाथ पौडेलले चेतावनी दिए । उक्त खण्ड  कालोपत्र गर्न ४८ करोड १२ लाख ५६ हजार ५२३ रुपैयाँमा सम्झौता भएको हो ।

निर्माण व्यवसायी दिनबन्धु काफ्लेले बजेट नहुँदा कामले गति नलिएको स्वीकार गरे । पर्याप्त कामदार र उपकरण परिचालन गरेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।