चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
काठमाडौँ- राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा फसेको छ। सामान्य प्याकिङ गर्न बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोडौँ रुपैयाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको छ।
उदयपुर सिमेन्ट उद्योगमा प्याकिङ बोरा अभाव हुँदा करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट अलपत्र परेको हो। देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योगमध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र श्रमिक समस्याले थलिएको अवस्थामा पुगेको हो।
उद्योगका अनुसार हाल उद्योग परिसरमा करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ। त्यसमध्ये करिब ५० हजार बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ भने थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात अवस्थामा रहेको जनाइएको छ। उत्पादन भएर तयार भइसकेको सिमेन्ट बजार पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन कमजोर बन्दै गएको छ।
उद्योग प्रशासनले प्याकिङका लागि आवश्यक बोरा खरिद गर्नसमेत रकम अभाव भएको जनाएको छ। उद्योग प्रशासन प्रमुख गम्भिरजङ खत्रीका अनुसार प्रतिबोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा हाल थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ पुग्ने बताइएको छ। उनका अनुसार उद्योग प्राविधिक कारणले नभई आर्थिक अभावका कारण बन्द अवस्थामा पुगेको हो।
यता उत्पादन विभागले पटकपटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि प्रशासनबाट प्रभावकारी पहल नभएको गुनासो गरेको छ। समयमै प्याकिङ र व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएको झण्डै ५ हजार बोरा बराबरको सिमेन्ट पूर्ण रूपमा नष्ट भएको उद्योगको भनाइ छ।
उद्योगमा कार्यरत कर्मचारी तथा मजदुरले करिब १५ महिनादेखि तलबभत्ता नपाएको गुनासो गरेका छन्। दैनिक जीवन सञ्चालन गर्न कठिन भएपछि उनीहरू आन्दोलनमा उत्रिएका छन्। आर्थिक संकट, मर्मत अभाव, श्रमिक आन्दोलन र कमजोर व्यवस्थापनका कारण उद्योग पूर्ण रूपमा बन्द अवस्थामा पुगेपछि यसको भविष्यलाई लिएर स्थानीयवासी तथा सरोकारवालाले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया