NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन

कीर्तिपुर । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण तथा अन्यत्र फैलिन नदिन आकस्मिक नियन्त्रण अभियान सञ्चालन गरेको छ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म रोग पुष्टि भएका १० जिल्लाका ७२ वटा फार्ममा रहेका करिब ५ लाख १५ हजार पन्छी नष्ट गरिएको छ।

उनका अनुसार सबैभन्दा बढी लेयर्स तथा स्थानीय जातका कुखुरा प्रभावित भएका छन्। रोग नियन्त्रणका लागि खटिएको द्रुत कार्य टोलीले करिब ७ लाख अण्डा र १८३ टन दाना समेत नष्ट गरेको छ।

केही साताअघि झापा, मोरङ र सुनसरीमा देखिएको बर्डफ्लु त्यसपछि महोत्तरी, बारा, चितवन हुँदै काठमाडौं, भक्तपुर, ललितपुर र पछिल्लो समय नवलपरासीसम्म फैलिएको विभागले जनाएको छ।

“बर्डफ्लुको उपचार उपलब्ध छैन। रोग देखिनासाथ नियन्त्रण गरी थप फैलिन नदिनु नै यसको प्रभावकारी उपाय हो,” दाहालले भने, “त्यसैले संक्रमित क्षेत्रमा रहेका पन्छी तथा पन्छीजन्य उत्पादन नष्ट गर्नुको विकल्प छैन। रोग नियन्त्रणका लागि पशु चिकित्सक र पशु स्वास्थ्यकर्मी निरन्तर खटिएका छन्।”

उनका अनुसार पछिल्लो समय काठमाडौं उपत्यका बर्डफ्लुको उच्च जोखिममा रहेको छ। चितवन तथा अन्य अधिकांश प्रभावित क्षेत्रमा भने रोगको अवस्था नियन्त्रणतर्फ उन्मुख रहेको उनले बताए।

विभागका अनुसार संक्रमित क्षेत्रमा रहेका सम्पूर्ण पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएपछि करिब दुई महिनासम्म व्यवसाय पुनः सञ्चालन गर्न पाइँदैन। उक्त अवधिपछि मात्रै आवश्यक प्रक्रिया पूरा गरेर व्यवसाय पुनः सुरु गर्न सकिने व्यवस्था रहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष