स्वीडेनमाथिको फराकिलो जितले डच टोली नकआउट चरणमा
काठमाडौँ- कोडी गाक्पो र ब्रायन ब्रोबीले दुई-दुई गोल गरेपछि जारी विश्वकपमा नेदरल्यान्ड्सले स्वीडेनमाथि ५–१ को फराकिलो जित दर्ता गरेको छ । शनिबार राति ह्युस्टन रंगशालामा ६९ हजार दर्शकमाझ निकालेको सानदार जितसँगै डच टोली नकआउट चरणको नजिक पुगेको छ ।
पहिलो खेलमा जापानसँग बराबरीमा रोकिएको रोनाल्ड कोम्यानको टोलीले यो जितसँगै समूह ‘एफ’ मा दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थान ओगटेको छ । समान खेलबाट स्वीडेनको ३, जापानको १ र ट्युनिसियाको शून्य अंक छ । खेलमा पराजित भए पनि स्वीडेनले गोलका थुप्रै अवसर सिर्जना गरेको थियो, तर डच गोलकिपरको उत्कृष्ट बचाउ र फितलो फिनिसिङका कारण उनीहरू चुके ।
यस खेलमा पहिलो पटक सुरुआती ११ मा स्थान बनाएका स्ट्राइकर ब्रोबीले खेलको पाँचौं र १७ औं मिनेटमा गोल गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याए । २४ वर्षीय ब्रोबीले तीन वर्षअघि डेब्यु गरेयता देशका लागि यसअघि मात्र एक गोल गरेका थिए ।
कोडी गाक्पोले दोस्रो हाफको सुरुवातमै दुई गोल थपे । उनले खेलको पहिलो गोलका लागि ब्रोबीलाई पास समेत उपलब्ध गराएका थिए।खेलको एक घण्टा जति पुग्न लाग्दा एन्थोनी एलाङ्गाले स्वीडेनका लागि एक सान्त्वना गोल फर्काए । तर, खेलको अन्त्यतिर वेस्टह्यामका क्रिसेन्सियो समरभिलले गोल गर्दै नेदरल्यान्ड्सको ५–१ को फराकिलो जित पक्का गरे ।
खेल हेर्न ह्युस्टनको ऐतिहासिक ‘आर्टेमिस २’ चन्द्र मिसनका दुई चालक दलका सदस्य विशिष्ट अतिथिका रूपमा उपस्थित थिए । साथै, डच राजा विलेम-अलेक्जेन्डर र सुन्तला रङको जर्सीमा सजिएका डच समर्थकको बाक्लो उपस्थितिमा नेदरल्यान्ड्सले आक्रामक सुरुवात गरेको थियो ।
पहिलो खेलमा ट्युनिसियालाई ५–१ ले नै हराएको स्वीडेनका डिफेन्डरले ब्रोबीको शारीरिक शक्तिको सामना गर्न सकेनन् । अर्कोतर्फ, स्वीडेनका महँगा र नाम चलेका स्ट्राइकर अलेक्ज्याण्डर इसाक र भिक्टर ग्योकेरेसले खेलभरि गोल गर्ने खासै मौका पाउन सकेनन्।
ताजा अपडेट
-
ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव
-
सुनको मूल्य तोलामा ८ हजार ८ सय रुपैयाँले घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
बाढीप्रभावित क्षेत्रमा झाडापखाला, हैजा र डेंगीलगायतको जोखिम छ
-
उद्धार र राहत प्रभावकारी बनाउन नसकेको सरकारलाई पूर्वसचिवका ७ सुझाव
-
भोटेकोशी बाढी अपडेट : १ हजार १२७ शव फेला, ४ हजार ८५८ अझै सम्पर्कविहीन


प्रतिक्रिया