NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ असार ९ गते

मेसीले रचे इतिहास: १८ गोलसहित बने विश्वकपकै उच्च गोलकर्ता

काठमाडौँ – अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखएका छन् ।

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाविरुद्ध टोलीका लागि सुरुआती गोल गर्दै ३८ वर्षीय मेसीले यो ऐतिहासिक सफलता हात पारेका हुन् । आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीको विश्वकपमा गोल सङ्ख्या १८ पुगेको छ ।

खेलको ३८औँ र इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल गर्दै उनी पुरुष र महिला दुवै विश्वकपको इतिहासमै सबैभन्दा बढी गोल गर्ने खेलाडी बने । उनले ब्राजिलकी महान् महिला खेलाडी मार्ताको १७ गोलको कीर्तिमानलाई पछि पारेका हुन् ।

यसअघि गत साता अल्जेरियाविरुद्ध ३–० को जित निकाल्ने क्रममा ह्याट्रिक गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए । अस्ट्रियाविरुद्धको खेलमा मेसीले सुरुवाती समयमा पेनाल्टी भने चुकाएका थिए ।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसीले देशका लागि २०१ खेल खेल्दै १२१ गोल गरिसकेका छन् । उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडी समेत बनेका छन् । मेसीको यो उत्कृष्ट लयले सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपनालाई बलियो बनाएको छ ।

व्यक्तिगत चोट र पारिवारिक समस्याका बाबजुद मेसीको उपस्थिति टोलीका लागि सधैँ ऊर्जादायी बन्ने गरेको छ । मेसीका बुबा हाल अस्वस्थ रहेको र उनको उपचार भइरहेको बुझिएको छ । ह्यामिस्ट्रिङको समस्याका बाबजुद मैदान उत्रिएका मेसीबारे मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले भने, “यदि कसैलाई लियोविना यो टोली राम्रो छ भन्ने लाग्छ भने, आज प्रस्ट भयो कि लियो नै हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन् ।”

विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा क्लोज (१६ गोल) दोस्रो, ब्राजिलका रोनाल्डो (१५ गोल) तेस्रो तथा जर्मनीका गर्ड मुलर र फ्रान्सका किलियन एम्बाप्पे (१४–१४ गोल) चौथो स्थानमा छन् । अस्ट्रियामाथिको जितसँगै अर्जेन्टिना अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो भएको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष