असन्तुष्टलाई शेखरको ढाडस–अन्यायविरुद्ध म लड्छु, पार्टीमा फर्कंनुस्
टिकट वितरणमा आर्थिक चलखेल गरेको आरोप

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले स्थानीय तहको टिकट वितरणमा गरिएको अन्यायविरुद्ध लड्ने उद्घोष गरेका छन् । साथै उनले टिकट वितरणबाट रुष्ट नेता–कार्यकर्तालाई पार्टी जिताउने गरी सक्रिय हुन र दल त्यागेकालाई मूलधारमा फर्कंन पनि आह्वान गरेका छन् ।
‘साथीहरूलाई राजनीतिक र व्यक्तिगत रूपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु,’ असन्तुष्टलाई ढाडस दिँदै कोइरालाद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पार्टीभित्रको न्यायको पक्षमा निरन्तर आवाज उठाउने प्रण गर्दछु ।’
कांग्रेसको नीतिगत तहमा संख्यात्मक रूपमा आफ्नो समूह थोरै भए पनि न्यायको लडाइँ जारी राख्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । ‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं । तर पनि हामी लड्छौं । जित सत्य र न्यायको हुन्छ । हामी निराश हुनेछैनौं,’ कोइरालाले भने ।
न्यायपूर्ण तरिकाले स्थानीय तहमा टिकट वितरण गर्ने पक्षमा आफू उभिए पनि नेतृत्वले सुनुवाइ नगरेको कोइरालाको गुनासो छ । टिकट वितरण मनोमानी ढंगले गर्दा असन्तुष्टि बढ्ने भन्दै कोइराला मापदण्डको पक्षमा उभिएका थिए । तर मापदण्डबिनै स्थानीय तहमा टिकट बाँडिएको थियो । टिकट वितरणपछि कतिपयले अन्याय गरिएको भन्दै पार्टी त्यागेका छन् ।
‘टिकट वितरणमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिक रूपमा साथीहरूबीच उठाएका थियौं तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन,’ कोइरालाको गुनासो छ ।
टिकट वितरणमा आर्थिक चलखेल गरिएको संगीन आरोप पनि कोइरालाले लगाएका छन् । यस्ता चलखेलबारे सार्वजनिक भइरहेको कोइरालाले बताए पनि कहाँ, कहाँ त्यस्तो भयो भन्नेबारे भने उनको विज्ञप्ति मौन छ ।
‘टिकट वितरणमा आर्थिक चखलेख र अनियमितता भयो भन्ने कुराहरू यतिखेर सार्वजनिक भइरहेका छन् र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरू भोग्दैछन्,’ विज्ञप्तिमा भनिएको छ ।
आफूसँग असहमत नेता–कार्यकर्ताको राजनीतिक जीवन समाप्त पार्न संस्थापन पक्षले योजनाबद्ध ढंगले षड्यन्त्र गरिरहेको आरोप पनि कोइरालाले लगाएका छन् । यसका लागि शेरबहादुर देउवा पक्षले राज्य र पार्टी दुवैतिरको संयन्त्र दुरूपयोग गरेर अनेक मुद्दामा फसाएको कोइरालाको दाबी छ ।
‘सबैभन्दा दुःखको कुरा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरूको राजनीीतनक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरू भएका छन् । कैयन साथीहरूलाई राज्य र पार्टी संयन्त्रको दुरूपयोग गरी अनेकन जालझेल र मुद्दामा फसाएर तिनको राजनीीतक हत्या गर्ने षड्यन्त्र भएका छन्,’ उनले भनेका छन् । कोइरालाले यस्ता कार्य तत्काल बन्द गर्न पनि माग गरेका छन् ।
कोइरालाले टिकट वितरणमा असन्तुष्टि जनाएर अन्य पार्टी प्रवेश गरेका, स्वतन्त्र उम्मेदवारी दिएकाप्रति सहानुभूति प्रकट गर्दै मूलधारमा फर्कंन आह्वान गरेका छन् ।
संस्थापनले अन्याय गरे पनि त्यसलाई भुलेर स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार विजयी गराउन पनि उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया