महिला टी२० विश्वकप : उपाधिका लागि आज इङ्गल्यान्ड र अष्ट्रेलिया भिड्दै
काठमाडौँ -आईसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनल खेल आज हुँदैछ।
लर्ड्स मैदानमा दुई चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्ड र अष्ट्रेलिया आमनेसामने हुँदैछन्। घरेलु टोली इङ्गल्याण्ड १७ वर्ष लामो प्रतिक्षा समाप्त गर्दै दोस्रो पटक उपाधि जित्ने दाउमा छ भने अष्ट्रेलिया आफ्नो कीर्तिमानी सातौँ उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रिनेछ। खेल नेपाली समय अनुसार बेलुकाको सवा ८ बजे सुरु हुनेछ।
यस प्रतियोगितामा दुवै टोली अहिलेसम्म अपराजित रहेका छन्। इङ्गल्याण्ड समूह २ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा दक्षिण अफ्रिकालाई सहजै पराजित गरी फाइनल यात्रा तय गरेको हो।
टोलीका लागि ब्याटिङमा ड्यानी व्याट-हज उत्कृष्ट लयमा छिन्, जसले ६ खेलमा २९४ रन बनाउँदै प्रतियोगिताकै सर्वाधिक रनकर्ता बनेकी छिन्। बलिङतर्फ सोफी एक्लेस्टोनले ६ खेलमा ९ विकेट लिएर बलियो योगदान दिएकी छिन्।
अष्ट्रेलिया समूह १ को विजेता बन्दै सेमिफाइनलमा वेस्टइन्डिजलाई पाखा लगाएर फाइनल पुगेको हो। टोलीकी स्टार अलराउन्डर एलिस पेरीले उच्च फर्ममा रहेकी छन्। उनी हाल सामान्य घाइते भए पनि फाइनल खेल खेल्ने सम्भावना प्रवल छ। बलिङमा कप्तान सोफी मोलिन्युक्सले १० विकेट लिएर टोलीको नेतृत्व गरिरहेकी छिन्।
इङ्गल्याण्ड र अष्ट्रेलियाबीच हालसम्म ४५ टी-२० खेल भएकोमा अष्ट्रेलियाले २२ खेल जितेको छ भने इङ्गल्याण्डले २० खेल मा विजयी भएको छ।। २ खेल टाई र १ खेल बिना नतिजा टुङ्गिएको छ।
टी-२० विश्वकपमामा भने अष्ट्रेलिया बलियो देखिन्छ। विश्वकपमा भएका भेटमा अष्ट्रेलियाले ४ खेल जित्दा इङ्गल्याण्डले २ खेल मात्र जितेको छ।
महिला टी-२० विश्वकपको फाइनलमा यी दुई टोली यसअघि तीन पटक भेट भइसकेका छन् र तीनै पटक अष्ट्रेलियाले बाजी मारेको छ। इङ्गल्याण्ड सन् २००९ को पहिलो संस्करण घरेलु मैदानमै जितेयता दोस्रो उपाधिको खोजीमा छ।


प्रतिक्रिया