मन लोभ्याउँदै जखेराको मनमोहक दृश्य
दाङ -दाङको लमही नगरपालिका–३ मा रहेको जखेरा ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। चुरे पहाडको फेदमा अवस्थित यो प्राकृतिक सरोवरले मनमोहक दृश्य, शान्त वातावरण र धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिका कारण पर्यटकलाई लोभ्याइरहेको छ।
मुसुण्डी गाउँको नजिक, उत्तरतर्फ चुरे पहाड र बीचमा फैलिएको जखेरा सरोवरको प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने जो कोहीलाई आकर्षित गर्ने गरेको छ। तालका कर्मचारी ओमभक्त चौधरीका अनुसार गत वैशाख र जेठ महिनामा मात्रै करिब दुई लाख आन्तरिक तथा बाह्य पर्यटकले जखेरा तालको अवलोकन गरेका थिए।
झण्डै आठ बिघा क्षेत्रफलमा फैलिएको यस तालको गहिराइ करिब सात फिट रहेको छ। ताल परिसरमा घुमघाम, वनभोज, जलविहार, प्राकृतिक पदयात्रा, बगैँचा अवलोकन तथा चरा र अन्य जीवजन्तुको अवलोकन गर्न सकिन्छ। उत्तरतर्फ गणेश मन्दिर र पूर्वतर्फ सिद्धेश्वर महादेवको मन्दिर रहेका छन् भने तालको बीचमा रहेको मन्दिरमा समेत पूजा गर्न सकिन्छ। साथै, पूर्वतर्फ भगवान् गौतम बुद्धको मूर्ति पनि राखिएको छ।
हाल तालमा पाँच वटा डुङ्गा सञ्चालनमा रहेका छन्। पर्यटकको संख्या बढ्दै गए पनि डुङ्गाको संख्या कम हुँदा कतिपय आगन्तुकले जलविहार गर्न नपाएको गुनासो गर्ने गरेका छन्। तालमा डुङ्गा सयरका लागि प्रतिव्यक्ति रु एक सय र मन्दिर दर्शनका लागि रु ५० शुल्क तोकिएको छ।
तुलसीपुरबाट आएकी ४८ वर्षीया निरा कुँवरले जखेरा तालको दृश्यले आफूलाई निकै आनन्दित बनाएको बताउनुभयो। उहाँले तालको सरसफाइ र व्यवस्थापनमा अझ ध्यान दिनुपर्ने सुझाव दिनुभयो। त्यस्तै, तुलसीपुरकी ३७ वर्षीया शारदा देवी ओलीले तालको प्राकृतिक आकर्षणले आफूलाई निकै प्रभावित बनाएको बताए।
स्थानीयको जनश्रमदान र विभिन्न सरकारी निकायको सहयोगका कारण जखेरा ताल जिल्लाकै प्रमुख पर्यटकीय स्थलका रूपमा विकास भएको हो। स्थानीय थारु भाषामा आकाशे पानी सङ्कलन हुने स्थानलाई ‘जखेरा’ भनिन्छ।
इतिहास हेर्दा विसं २०३० सालमा साविक सोनपुर गाविस (हाल लमही नगरपालिका–३) क्षेत्रमा जखेरा तालको निर्माण प्रक्रिया सुरु भएको थियो। यसको संरक्षण र विकासमा स्व. दिपु चौधरीको महत्वपूर्ण योगदान रहेको स्थानीय बताउँछन्। उहाँले सोनपुर, टिकुलीगढ, फल्कापुर र श्रीगाउँका स्थानीय बुद्धिजीवीसँग सहकार्य गरी खेर गइरहेको वर्षाको पानी सङ्कलन गर्न थाल्नुभएको थियो। समयक्रमसँगै उक्त पोखरी विस्तार हुँदै आजको जखेरा तालको स्वरूपमा विकास भएको हो।
सिँचाइ सुविधाका लागि निर्माण गरिएको यो जलाशय पछि धार्मिक, प्राकृतिक र पर्यटकीय महत्व बोकेको गन्तव्य बनेको छ। लमही बजारबाट करिब छ किलोमिटर पूर्व र सुनडबरी गाउँबाट करिब दुई किलोमिटर उत्तरमा रहेको जखेरा ताल पूर्व–पश्चिम राजमार्ग नजिकै पर्दछ।
सडक पहुँच सहज भएकाले नेपालका विभिन्न स्थानका साथै भारत र अन्य देशबाट समेत पर्यटकहरू जखेरा ताल अवलोकनका लागि आउने गरेका छन्।
ताजा अपडेट
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री चौधरीको पहल, कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि कृषि मन्त्री गिता चौधरीको पहल : कालीमाटीबाट उपत्यका बाहिर ढुवानी सुरु
-
अन्तरराष्ट्रिय पदक विजेता खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिने
-
सम्पत्ति जाँबुझ आयोगलाई काम रोक्न सर्वोच्चको आदेश
-
राष्ट्रिय सुरक्षा र कूटनीतिकमा असर पार्ने फिल्मलाई प्रदर्शन अनुमति नदिइने


प्रतिक्रिया