बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा
ललितपुर– ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म बन्द गर्दा तीन करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।
बर्डफ्लु सङ्क्रमण देखिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषले असार ५ गतेदेखि चिडियाखाना सर्वसाधारणका लागि बन्द गरेको थियो। सङ्क्रमण नियन्त्रणमा आएपछि साउन १ गतेदेखि चिडियाखाना पुनः सञ्चालनमा ल्याइएको छ।.चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार सङ्क्रमण देखिएपछि नियमित सरसफाइ, सङ्क्रमित जीवजन्तुको उपचार तथा आवश्यक सावधानी अपनाइएको थियो। त्यसपछि पशु सेवा विभाग, केन्द्रीय पशु रोग अनुसन्धान प्रयोगशाला तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ अधिकारीको संयुक्त बैठकले चिडियाखाना पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो।
कोइरालाका अनुसार सामान्य दिनमा दैनिक एक हजार सात सयदेखि एक हजार आठ सय जनाले चिडियाखाना भ्रमण गर्ने गरेका थिए। शनिबार पाँच हजारदेखि सात हजार र आइतबार तीन हजार पाँच सयदेखि पाँच हजार जनासम्म चिडियाखाना घुम्न आउने गरेका थिए। पुनः सञ्चालन भएको पहिलो दिन साउन १ गते भने आठ सय जनाले मात्र चिडियाखाना भ्रमण गरेका छन्।
चिडियाखानाले बालबालिका र ज्येष्ठ नागरिकका लागि एक सय रुपैयाँ, विद्यार्थीका लागि एक सय ५० रुपैयाँ र अन्य आगन्तुकका लागि दुई सय ५० रुपैयाँ प्रवेश शुल्क लिँदै आएको छ।
गत आर्थिक वर्षमा चिडियाखानाले करिब १८ करोड रुपैयाँ आम्दानी गरेको थियो। आर्थिक वर्ष २०८२/८३ मा २१ करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएको भए पनि बर्डफ्लुका कारण लामो समय बन्द रहँदा उक्त लक्ष्य पूरा गर्न चुनौती थपिएको प्रशासनले जनाएको छ।
हाल चिडियाखानाको टिकट काउन्टर बिहान १०:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म खुला रहने व्यवस्था गरिएको छ। सबै आगन्तुक साँझ ५:०० बजेसम्म बाहिरिसक्नुपर्ने नियम बनाइएको छ। सङ्क्रमण फैलिनुअघि भने टिकट काउन्टर साँझ ६:०० बजेसम्म खुला रहने गरेको थियो।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया