निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले बताएका छन् । वर्डफ्लुको सङ्क्रमण देखिएपछि सरकारी क्षेत्रबाट गर्नुपर्ने काम निरन्तर रूपमा गरिनुका साथै जनमानसमा सकारात्मक प्रभाव पर्ने गरी सूचना सम्प्रेसण गरेसँगै सङ्क्रमण नियन्त्रण हुँदै गएको व्यवसायीले बताएका हुन् ।
सङ्क्रमण नियन्त्रणका लागि सचेतनासँगै आवश्यक सावधानी अपनाइएकाले बढी क्षति हुन नपाएको नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले बताए । उनका अनुसार कुखुरापालक सङ्घ र नेपाल ह्याचरी उद्योग सङ्घ केन्द्रीय समितिले पशु सेवा विभागलाई लिखित रूपमा धन्यवाद ज्ञापन गरेको छ ।
पत्रमा भनिएको छ, “सबै कर्मचारीको समूह अहोरात्र खटिएर वर्डफ्लुको सङ्क्रमण नियन्त्रणतर्फ जानुका साथै आमसमुदायमा नकारात्मक प्रभाव नपर्ने गरी सचेतनामूलक सूचना सम्प्रेषण र सावधानी अपनाइ देशको आत्मनिर्भर व्यवसायलाई धरासयी हुनबाट जोगाउन गर्नुभएको योगदान अतुलनीय छ ।”
सङ्घका अध्यक्ष पोखरेलले विभागले गरेको पहल र निरन्तरको योगदानका कारण थप क्षति हुनबाट पोल्ट्री क्षेत्र जोगिएको बताए । किसान र व्यवसायीलाई सङ्कट हुँदा तत्काल सम्बोधन गर्न सकेमा कम क्षतिमा काम हुन्छ भन्ने उदाहारण अहिले सरकारले दिएको उनले बताए । तत्काल राहत दिएर किसानलाई पुनः काम गरिहाल्ने वातावरणसमेत सरकारी तबरबाट सृजना भएको उनको भनाइ छ ।
नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेले पशु सेवा विभागका महानिर्देशकसहितको समूहलाई भेट गरी वर्डफ्लु नियन्त्रणमा लिएको तदारुपता प्रति आभार व्यक्तसमेत गरेको बताए । ९९ दशमलव ९९ प्रतिशत रोग नियन्त्रण भएको जनाउँदै उहाँले अरु ठाउँमा सङ्क्रमण नदेखिनेमा आफूहरू विश्वस्त रहेको बताए ।
नेपालको कृषि क्षेत्रमध्ये एक मात्र आत्मनिर्भर व्यवसाय पोल्ट्री व्यवसायीकरण र आधुनिकीकरण हुँदै देशको कूल ग्राहस्थ उत्पादनको करिब तीन प्रतिशत हिस्सा ओगटेको जनाउँदै सङ्घका केन्द्रीय अध्यक्ष लामिछानेले प्रत्यक्ष रूपमा पाँच लाख जनालाई रोजगारी उपलब्ध गराइरहेको बताए । नेपालको पोल्ट्री व्यवसाय क्षेत्रमा करिब रु १६० अर्ब लगानी रहेको भन्दै यसको संरक्षण राज्यतर्फबाट हुनुपर्नेमा उनले जोड दिए।
साउन १ गतेयता नेपालमा वर्डफ्लु देखिएको छैन । पशु सेवा विभागका महानिर्देशक डा उमेश दाहालका अनुसार नेपालभरि आठ लाख ३५ हजार ५६३ वटा पन्छी नष्ट गरिएको छ । ११ लाख ६५ हजार ६६३ अण्डा, दुई लाख ४५ हजार ३५ किलो दाना नष्ट गरिएको जनाउँदै काठमाडौँ उपत्यकाभित्र र काभ्रेमा मात्र तीन लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको उल्लेख गरे ।
महानिर्देशक दाहालका अनुसार प्रभावित कृषकलाई तत्काल सरकारले राहत उपलब्ध गराएको छ । रु ५० करोड बजेट रकमान्तर भई रु ५२ करोड व्यवस्थापन भएकामा हालसम्म १०४ जना कृषक र फार्मको खातामा रु ५० करोड ७१ लाख १५ हजार ७०४ राहत रकम निकासा गरिसकिएको छ ।
“देशभर रहेका पन्छी रोग अन्वेषण प्रयोगशालाहरूले तीव्र रूपमा परीक्षण अघि बढाएका छन् । सरकारको तदारुपता र किसानको सहयोगका कारण वर्डफ्लु नियन्त्रणमा आउन सकेको हो । अब थप सङ्क्रमण हुने सम्भावना कम छ”, डा दाहालले भने । सङ्क्रमण घटेसँगै कुखुराको अण्डा र मासुको खपत बढ्न थालेको छ भने किसानले उचित मूल्य पाउन थालेका छन् । यसअघि, सङ्क्रमणका कारण मूल्य घटेपछि किसान प्रभावित बनेका थिए । चल्ला बिक्री नहुँदा नष्ट गर्नुपर्ने बाध्यतासमेत आएको थियो ।
ताजा अपडेट
-
निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी


प्रतिक्रिया