NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन ११ गते

सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुनसरीको दक्षिण क्षेत्रमा रहेका पाँच बजारमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु जारी गरेका हुन् । कर्फ्यू बिहान ७ बजेदेखि लागू भएको छ । कर्फ्यु जारी भएको समयमा हिँडडुल गर्न भेला, जुलुस, सभा गर्न रोक लगाइएको छ ।

आइतबार राति दुई समूहबीच विवाद हुँदा प्रहरीले चलाएको थियो । प्रहरीले चलाएको गोली लागेर देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

सोमबार बिहान कप्तानगन्जको अवस्था सामान्य छ । थप दुर्घटना हुननदिन स्थानीय प्रशासनले सुनसरीको दक्षिण क्षेत्रमा पर्ने हरिनगरा बजार क्षेत्र, भुटाहाको बजार क्षेत्र, कप्तानगन्जको बजार क्षेत्र, घुस्कीको बजार क्षेत्र र देवानगञ्ज बजार क्षेत्रमा अर्काे सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

हरिनगरा बजार क्षेत्रको पूर्वतर्फ नूनिया टोल, पश्चिम तर्फ खुनिया धार, उत्तर तर्फ हरिनगर गापा कार्यालय र दक्षिण तर्फ बसन्तपुर मोडसम्म कर्फ्यु जारी भएको छ ।

भुटाहा बजार क्षेत्रको पूर्व तर्फ मोरीया धार खोला, पश्चिम तर्फ इदगाहा फिल्ड, उत्तर तर्फ सुनसरी खोला र दक्षिण तर्फ हरिनगर गापा कार्यालयसम्म कर्फ्यु छ ।

कप्तनगंज बजार क्षेत्रको पूर्व तर्फ यादव टोल, पश्चिम तर्फ पाँचौ सिमल मावि, उत्तर तर्फ कृष्ण मावि र दक्षिण तर्फ नेपाल- भारत सीमा क्षेत्रसम्म कर्फ्यु जारी भएको छ ।

घुस्की बजार क्षेत्रको पूर्व तर्फ कासमिया मदरसा, पश्चिम तर्फ प्रहरी चौकी घुस्की, उत्तर तर्फ इशा हार्डवेयर र दक्षिण तर्फ हिलाल पब्लिक स्कुलसम्म कर्फ्यु लागेको छ ।

देवानगंज बजार क्षेत्रको पूर्वतर्फ विराटनगर जाने बाटोको मुसहर टोल, पश्चिम तर्फ मोरीया खोला, उत्तर तर्फ चिउरा मिल र दक्षिण तर्फ गाउँपालिकाको कार्यालयसम्म कर्फ्यु आदेश जारी भएको हो ।

आइतबार राति युवाहरूको एक समूह डिजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो । सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला भएको भन्दै अवरोध गर्न खोजेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो । दुई समूहबीच उत्पन्न विवाद झडपमा परिणत हुँदै हिंसात्मक बनेपछि स्थिति नियन्त्रणमा लिन राति प्रहरीले गोली चलाएको थियो ।

झडपपछि राति करिब १२ बजे सुरक्षा समितिको बैठक बसेको थियो । राति साढे १२ बजे प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आज बिहान ७ बजेबाट लागु हुनेगरी कर्फ्यु आदेश जारी गरेका थिए । स्थानीय प्रशासनले हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभरी नै निषेधाज्ञा जारी गरेको छ ।

 

ताजा अपडेट

नेपालवाच विशेष