NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन १४ गते

सुनसरी घटनापछि प्रधानमन्त्री बालेनको अपिल: ‘उत्तेजना र बदलाको भावना रोकौँ, दोषीमाथि कारबाही हुन्छ’

काठमाडौं । सुनसरीमा पछिल्लो घटनाक्रमपछि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सामाजिक सदभाव कायम राख्न र संयम अपनाउन नागरिकलाई अपिल गरेका छन्। उनले उत्तेजना, आक्रोश र बदलाको भावनाले समाजलाई थप अशान्त बनाउने भन्दै त्यस्ता गतिविधिबाट टाढा रहन आग्रह गरेका हुन्।

प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत जारी गरेको अपिलमा सुनसरी घटनाबाट आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई एक नागरिकका रूपमा समेत दुःखी भएको बताएका छन्। उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

उनले मृतकका परिवार, घाइते तथा पीडित परिवारलाई सरकारले न्याय र क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन्। साथै, घटनामा संलग्न दोषीलाई कानुनअनुसार कारबाही गरिने विश्वास दिलाएका छन्।

“मान्छेको सबैभन्दा पहिलो धर्म मान्छे जोगाउनु हो। सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पीडितलाई न्याय र क्षतिपूर्ति दिलाउनु हो,” प्रधानमन्त्री शाहले भनेका छन्।

उनले सुरक्षाकर्मीको गोलीबाट नागरिकको ज्यान गुम्नु गम्भीर विषय भएको उल्लेख गर्दै घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिएका छन्। सुरक्षाकर्मीको तर्फबाट भएको यस्तो क्षति कुनै पनि हालतमा सामान्य नभएको उनको भनाइ छ।

प्रधानमन्त्री शाहले सरकारले घटनाको गम्भीर समीक्षा गरिरहेको र भविष्यमा यस्ता घटना दोहोरिन नदिन आवश्यक निर्णय लिइरहेको बताएका छन्। उनले घटनाको सुरुवातदेखि नै सरकार सक्रिय रहे पनि प्रयास पर्याप्त हुन नसकेको स्वीकार गरेका छन्।

उनले नागरिकलाई रिस, डर र आक्रोश नियन्त्रण गर्न आग्रह गर्दै भनेका छन्, “उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला। सुरक्षित र संयमित भएर बसौँ। एक–अर्कालाई प्रेम र सम्मान गरौँ। सामाजिक सदभाव कायम राखौँ।”

प्रधानमन्त्री शाहले सरकार पीडितलाई न्याय दिलाउन प्रतिबद्ध रहेको र त्यसका लागि आवश्यक सबै कदम चाँडो चालिने बताएका छन्।

ताजा अपडेट

नेपालवाच विशेष