NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २६ गते

राहदानी उत्पादनमा छलाङ, एकै दिन ५ हजार ८७८ ई–पासपोर्ट छापियो

काठमाडौं । राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) उत्पादन क्षमता उल्लेख्य रूपमा बढाएको छ । विभागले साउन २५ गते एकै दिन ५ हजार ८७८ वटा ई–पासपोर्ट उत्पादन गरेको जनाएको छ ।

बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै आएको विभागका अनुसार पछिल्लो समय दैनिक ५ हजारभन्दा बढी राहदानी उत्पादन हुन थालेको हो । यसअघि विभागको दैनिक उत्पादन क्षमता करिब १ हजार ५०० वटा मात्रै थियो ।

विभागले नेपाली नागरिकलाई सहज, छिटो, सुरक्षित र प्रभावकारी रूपमा ई–पासपोर्ट उपलब्ध गराउने उद्देश्यले सेवा प्रणालीसँगै उत्पादन क्षमता विस्तार गर्दै आएको जनाएको छ ।

बढ्दो मागलाई ध्यानमा राखेर उत्पादन क्षमता अझै वृद्धि गर्ने काम भइरहेको विभागको भनाइ छ । सेवाग्राहीले समयमै राहदानी पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग समन्वय गरी सेवा प्रवाहको क्षमता विस्तार गरिएको विभागले जनाएको छ ।

हाल ई–पासपोर्ट सेवा काठमाडौंमा मात्र सीमित छैन । देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा विभिन्न इलाका प्रशासन कार्यालयबाट राहदानीसम्बन्धी सेवा उपलब्ध हुँदै आएको छ । विदेशमा रहेका नेपाली नागरिकले विदेशस्थित नेपाली नियोगमार्फत पनि ई–पासपोर्ट सेवा लिन सक्ने व्यवस्था छ ।

विभागले राहदानी उत्पादन तथा वितरण प्रणालीमा देखिन सक्ने प्राविधिक समस्या समाधानलाई समेत प्राथमिकतामा राखेको जनाएको छ । सेवा प्रवाहका क्रममा देखिएका प्राविधिक समस्या समाधान गरी आगामी तीन महिनाभित्र प्रणालीलाई थप स्थिर बनाउने गरी आवश्यक प्राविधिक तथा व्यवस्थापकीय काम अघि बढाइएको विभागको भनाइ छ ।

प्रणालीको क्षमता, स्थायित्व र कार्यसम्पादन सुधारका लागि सम्बन्धित प्राविधिक पक्षसँग निरन्तर समन्वय भइरहेको विभागले जनाएको छ । ई–पासपोर्ट सेवा थप सहज, भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउनेतर्फ विभागले विशेष ध्यान दिएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष