NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ साउन २९ गते

२२० केभी प्रसारण लाइन आयोजनाले दियो वन प्रयोग बापतको जग्गा

सङ्खुवासभा । सङ्खुवासभामा २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत सट्टाभर्ना जग्गा उपलब्ध गराएको छ ।

नेपाल विद्युत् प्राधिकरणको तुम्लिङटार–सितलपाटी २२० केभी प्रसारण लाइन आयोजनाले वन क्षेत्रको जग्गा प्रयोग गरेबापत डिभिजन वन कार्यालयलाई सट्टाभर्ना जग्गा उपलब्ध गराएको हो ।

प्रसारण लाइन तथा टावर निर्माणका लागि प्रयोग गरिएको राष्ट्रिय वन क्षेत्रको क्षतिपूर्तिस्वरूप आयोजनाले जग्गा खरिद गरी सरकारको नाममा हस्तान्तरण गरेको छ । प्राधिकरणको २८.४८ हेक्टर सट्टाभर्ना जग्गा उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अधिकारी डम्बर भण्डारीले जानकारी दिए । आयोजनाले खाँदबारी नगरपालिका–९, ८, २ र १० मा रहेको राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गरेको थियो ।

आयोजनाले पाँचखपन नगरपालिका–४ मा रहेका ७१ वटा कित्ता जग्गा खरिद गरेर हस्तान्तरण गरेको सूचना अधिकारी भण्डारीले बताए । आयोजनाले ७१ वटा कित्ताको जग्गा रजिस्ट्रेसन पास गरेर डिभिजन वन कार्यालयलाई केही दिनअघि हस्तान्तरण गरेको हो ।

त्यसैगरी, मकालु गाउँपालिका–५ मा निर्माण हुन लागेको २४.९२ मेगावाट क्षमताको इन्दुवाखोला जलविद्युत् आयोजनाले रुख कटानबापत दुई करोड ५२ लाख २५ रुपैयाँ राजस्व तिरेको छ । मकालु–५ मा निर्माण हुनलागेको आयोजनाले स्याहार, सम्भार र व्यवस्थापनका लागि दुई करोड बढी राजस्व तिरेको वन कार्यालयका सूचना अधिकारी भण्डारीले जानकारी दिए ।

सो आयोजनामा ६०७ वटा रुख कटान हुनेछन् । जिल्लामा सामुदायिक वनको सङ्ख्या २९० छन् । सङ्खुवासभामा ३८ हजार ४८५ वर्ग किलोमिटर क्षेत्र वनले ओगटेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष