NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १ गते

टप एन्ड टी–२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

काठमाडौँ। अष्ट्रेलियाको टप एन्ड टी–२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता जनाउने तयारीमा छ। यसपटक नेपाल क्रिकेट सङ्घ (क्यान)ले सिनियर टोलीको सट्टा ‘ए’ टिमलाई अष्ट्रेलिया पठाउन लागेको हो।

टप एन्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टोलीमा अनुभवी र युवा खेलाडीको मिश्रण छ। अनिलकुमार साहको कप्तानीमा रहेको टोली सन्तुलित रहेकाले नतिजा उत्कृष्ट निकाल्नेमा प्रशिक्षक र खेलाडी आशावादी छन्।

‘नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ’

नेपाल ‘ए’ टोलीका मुख्य प्रशिक्षक राजु बस्न्यातले खेलाडीले राम्रो तयारी गरेकाले अष्ट्रेलियामा सकारात्मक नतिजा निकाल्ने सम्भावना बलियो रहेको प्रतिक्रिया दिए। त्यहाँको पिचसँग घुलमिल हुन चुनौती रहे पनि खेलाडीले उत्कृष्ट प्रदर्शन गर्नेमा उनी विश्वस्त छन्।

“पछिल्लो १०–१२ दिनदेखि हामी नियमित अभ्यास गरिरहेका थियौँ। तयारी र टिम राम्रो छ। टोलीमा अनुभवी र युवा खेलाडीको राम्रो सहभागिता छ। अष्ट्रेलियामा रहँदा टी–२० र ५० ओभरको क्रिकेटमा पनि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछौँ। त्यहाँको अवस्थाको आत्मसात् गर्दै नेपाल ‘ए’ टिमका खेलाडीले उत्कृष्ट खेल्नेमा आशावादी छु”, मुख्य प्रशिक्षक बस्न्यातले टोलीको बिदाइ कार्यक्रममा भने।

उनले नेपाली क्रिकेटलाई बलियो बनाउन ‘ए’ टिमको अवधारण महत्त्वपूर्ण रहेको उल्लेख गरे। “दीर्घकालका लागि नेपाल ‘ए’ टिमको अवधारणा एकदमै राम्रो छ। पछिल्ला दिनहरूमा हेर्ने हो भने ‘ए’ टिमबाट नयाँ खेलाडी पनि सिनियर टिममा सिफ्ट भइरहेका छन्। यस्तै, सिनियर टोलीका खेलाडी लयमा फर्किनका लागि ‘ए’ टिममा आउने जुन अभ्यास भइरहेको छ, त्यसले नेपाली क्रिकेटको स्ट्रेन्थ बढाउन ‘ए’ टिम महत्त्वपूर्ण छ”, मुख्य प्रशिक्षक बस्न्यातले भने।

‘राम्रो तयारीका साथ अस्ट्रेलिया जाँदैछौँ’

नेपाल ‘ए’ टोलीका कप्तान साहले फरक–फरक तरिकाले अभ्यास गरेकाले टप एन्ड टी–२० सिरिजमा आफूहरूले उत्कृष्ट प्रदर्शन गर्ने बताए। अष्ट्रेलियाको महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउन पाउँदा उत्साहित रहेको उनले प्रतिक्रिया दिए।

“हामीले पछिल्लो ८–१० दिनदेखि हेडकोचको निगरानीमा निरन्तर अभ्यास गरिरहेका थियौँ। त्यहाँको कन्डिसनअनुसार कसरी खेल्ने भन्नेबारे योजनाबद्ध प्रशिक्षण गर्यौँ। नेपाल ‘ए’ टोलीका लागि अष्ट्रेलिया भ्रमण महत्त्वपूर्ण छ”, कप्तान साहले भने, “कम समयमा पनि क्यानले क्याम्पको आयोजना गरेर सहयोग गर्यो। टप एन्ड टी–२० सिरिजजस्तो प्रतियोगितामा सहभागिता जनाउने अवसर जुराएको छ, त्यसका लागि क्यानलाई धन्यवाद। हामी यो प्रतियोगितामा पाएको मौकालाई सदुपयोग गर्न उत्साहित छौँ।”

नतिजामा सुधार गर्ने मौका

नेपालले दोस्रोपटक टप एन्ड टी–२० सिरिजमा सहभागिता जनाउन लागेको हो। गत संस्करणमा नेपालको सिनियर पुरुष टिमले यो प्रतियोगिता खेलेको थियो।

उक्त संस्करणमा नेपालले लिग चरणको छ खेलमध्ये दुईमा जित र चार खेलमा पराजय व्यहोरेको थियो। यसपालि त्यो नतिजामा सुधार गरेर उपाधि जित्ने नेपाल ‘ए’ टोलीको योजना छ।

उक्त सिरिजमा नेपालले पहिलो खेल २१ अगस्टमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध खेल्नेछ। त्यस्तै, २२ अगस्टमा बङ्गलादेश हाई पर्फर्मेन्स, २४ अगस्टमा होबार्ट हरिकेन्स, २६ अगस्टमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, २७ अगस्टमा हैदराबाद किङ्समेन एकेडेमी तथा २९ अगस्टमा भिक्टोरिया सिए–११ विरुद्ध खेल्ने तालिका छ।

टप एन्ड टी–२० सिरिजपछि नेपाल ‘ए’ले न्युजिल्यान्ड ‘ए’, तास्मानिया र साउथ अष्ट्रेलियाविरुद्ध एकदिवसीय अभ्यास खेलसमेत खेल्ने क्यानले जनाएको छ। नेपालको सिनियर टोली एसिसी प्रिमियर लिगमा व्यस्त हुने भएकाले क्यानले ‘ए’ टोलीलाई अष्ट्रेलिया पठाउन लागेको हो।

अष्ट्रेलिया जाने नेपाली ‘ए’ टोलीमा अनिलकुमार साह (कप्तान), कुशल भुर्तेल, लोकेश बम, तृतराज दास, मयन यादव, कुशल मल्ल, राशिद खान, पवन सर्राफ, दीपक डुम्रे, नारायण जोशी, आकाश चन्द, शाहब आलम, विपिन खत्री, रिजन ढकाल र युवराज खत्री छन्।

ताजा अपडेट

नेपालवाच विशेष