NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ३ गते

बङ्गलादेशमा बढ्दो नेपाली जडीबुटीको माग, एक वर्षमा १४ करोडको निर्यात

काठमाडौं – एक वर्षमा रु १४ करोड छ लाख ८३ हजारको जडीबुटी निर्यात भएको छ । काँकडभिट्टाबाट भारत र बङ्गलादेशतर्फ १२ थरीका कूल एक हजार १०८ मेट्रिक टन जडीबुटी निर्यात भएको हो ।

भारततर्फ ४२२ मेट्रिक टन तेजपात निर्यात भई रु २ करोड ६६ लाख ६४ हजार र बङ्गलादेशतर्फ २६९ मेट्रिक टन चिराइतो निर्यात हुँदा रु ६ करोड ५६ लाख ३५ हजार आम्दानी भएको पूर्वी भन्सार नाका काँकडभिट्टाका प्रमुख नन्दकिशोर सिंहले बताए ।

नेपाली जडीबुटीको परम्परागत बजार भारत हो । पछिल्लो समय बङ्गलादेशतर्फ रिठ्ठा, क्यानोला तेल, सतावर, मजिठो र जटामसीलगायतका जडीबुटीको निकासी बढेको छ ।

यस अवधिमा बङ्गलादेशतर्फ १८७ मेट्रिक टन रिठ्ठा (रु दुई करोड तीन लाख ८६ हजार), ४० मेट्रिक टन क्यानोला तेल (रु एक करोड २८ लाख ३६ हजार) र पाँच मेट्रिक टन सतावर (रु ९४ लाख ५६ हजार) निर्यात भएको छ । कम परिमाणमा निर्यात भए पनि हिमाली तथा पहाडी क्षेत्रमा पाइने पदमचाल र सतावरले निकै राम्रो बजार मूल्य पाएका छन् ।

१२ मेट्रिक टन पदमचालबाट रु ९४ लाख ८८ हजार र पाँच मेट्रिक टन जटामसीबाट रु ६३ लाख ८० हजार आम्दानी भएको छ । यसबाहेक २६ मेट्रिक टन चुत्रो (रु ११ लाख ४१ हजार), २२ मेट्रिक टन नागबेली पाउडर (रु १० लाख १८ हजार), आठ मेट्रिक टन अमला (रु आठ लाख ६७ हजार) र दुई मेट्रिक टन टिमुर (रु आठ लाख) निर्यात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ ।

स्वदेशी जडीबुटीको प्रशोधन र बजारीकरणमा सरकारी तवरबाट थप सहजीकरण हुन सके पूर्वी नाकाबाट जडीबुटी निर्यात अझै बढाउन सकिने सरोकारवालाहरू बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष