NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ ९ गते

नापी सर्भेक्षकको अकुत सम्पत्ति ३ करोड ७१ लाख !

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा कार्यरत सर्भेक्षक विन्देश्वर साह सुडीविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा आयोगले साहविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारका अनुसार साहले २०४६ माघ १६ गतेदेखि २०८१ जेठ ३२ गतेसम्मको अवधिमा विभिन्न स्रोतबाट ६ करोड ३ लाख ८५ हजार ३० रुपैयाँ १५ पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ ।

तर सोही अवधिमा उनले जग्गा खरिद, शेयर खरिद, सवारीसाधन खरिद, बीमा प्रिमियम, अध्ययन खर्च, ऋण–सापटी भुक्तानी, बैंक मौज्दात तथा विभिन्न लगानीमा ९ करोड ७५ लाख ६९ हजार ५८१ रुपैयाँ ९५ पैसा खर्च तथा लगानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ।

वैधानिक आयको तुलनामा खर्च तथा लगानी ३ करोड ७१ लाख ८४ हजार ५५१ रुपैयाँ ८० पैसा बढी रहेको र उक्त रकमको स्रोत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ।

आयोगले उक्त रकम बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको ठहर गर्दै साहविरुद्ध बिगोबमोजिम कैद तथा जरिवाना र गैरकानुनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गर्न मागदाबी गरेको छ।

साहले वास्तविक सम्पत्तिको विवरण नखुलाई सम्पत्ति लुकाएको तथा झुट्टा विवरण पेस गरेको पुष्टि भएको भन्दै त्यससम्बन्धी कसुरमा समेत थप सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।
साहले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति उनकी श्रीमती सुमिन्त्रा देवी साहको नाममा समेत रहेको देखिएको आयोगले जनाएको छ। सो सम्पत्ति जफत गर्ने प्रयोजनका लागि सुमिन्त्रा देवी साहलाई समेत प्रतिवादी कायम गरी आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।