रसुवामा आएको भीषण बाढी हिमताल फुटेर आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीको कारण अझै यकिन हुन सकेको छैन। बाढीका कारण रसुवागढी भन्सार, टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती र त्रिशूलीलगायत क्षेत्रमा ठूलो क्षति पुगेको छ।
बुधबार बिहान करिब ९ बजे आएको बाढी हिमताल फुट्नु, हिमपहिरो खस्नु वा नदीको प्राकृतिक बाँध भत्किनुका कारण आएको हुनसक्ने विज्ञहरूले प्रारम्भिक अनुमान गरेका छन्।
बाढी तथा पहिरोसम्बन्धी अध्ययन गर्दै आएका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालले तिब्बततर्फ आएको हिमपहिरोका कारण बाढी आएको हुनसक्ने बताए। उनका अनुसार अहिले उपलब्ध विवरणका आधारमा प्रारम्भिक अनुमान मात्रै गर्न सकिन्छ।
‘अहिले प्रारम्भिक अनुमान मात्र गर्न सकिन्छ। चिनियाँ पक्षबाट पनि आधिकारिक जानकारी प्राप्त भइसकेको छैन,’ खनालले भने, ‘विस्तारै बग्ने हिमपहिरो (स्लो एभलान्चे) का कारण बाढी आएको हुनसक्छ।’
जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले पनि बाढीको वास्तविक कारण खुलिनसकेको बताए। उनका अनुसार हिमताल फुटेर बाढी आएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ।
‘वास्तविक कारण पत्ता लागेपछि विभागबाट विज्ञप्ति जारी गर्छौं,’ कायस्थले भने।
उनले बाढी एकदेखि दुई घण्टाभित्र चितवनको देवघाट क्षेत्रमा पुग्नसक्ने भन्दै मुग्लिन, नारायणगढलगायत क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
भूगर्भविद् प्राध्यापक रञ्जनकुमार दाहालले बाढीमा देखिएको पानीको मात्रा सामान्य खोलो थुनिएर आएको जस्तो नदेखिएको बताए। उनका अनुसार बाढीको प्रकृति हेर्दा कुनै हिमताल फुटेको हुनसक्ने सम्भावना देखिन्छ।
‘बाढी हेर्दा भइरहेको ताल फुटेरै आएको जस्तो देखिन्छ। तर कुन ताल हो भन्न सकिँदैन। हिमपहिरो खसेर ताल फुटेको पनि हुनसक्छ,’ दाहालले भने।
पानी र पहिरोको सम्बन्धबारे अनुसन्धानमूलक पुस्तक लेखेका मधुकर उपाध्यायले पनि हिमताल फुट्नु नै बाढीको प्रमुख कारण हुनसक्ने बताए। उनले घटनालाई अकल्पनीय क्षतिको रूपमा व्याख्या गर्दै हिमतालबाट आएको बाढी हुनसक्ने बताए।
यसैगरी भूगर्भविद् श्रीकमल द्विवेदीले पर्माफ्रोस्ट पग्लिनुलाई पनि सम्भावित कारणका रूपमा औँल्याएका छन्। उनका अनुसार हिमाली क्षेत्रमा लामो समयसम्म जमेको बरफले माटो र ढुंगालाई थामेर राखेको हुन्छ। निरन्तर पानी पर्दा त्यस्तो बरफ पग्लिएर माटो–ढुंगा बग्न थालेमा हिमबाढीको अवस्था सिर्जना हुनसक्ने उनको भनाइ छ।
ताजा अपडेट
-
रसुवामा आएको बाढीका कारण ३८४ पर्यटक सम्पर्कविहीन
-
रसुवामा आएको भीषण बाढी हिमताल फुटेर आएको हुनसक्ने विज्ञहरूको प्रारम्भिक अनुमान
-
रसुवा, नुवाकोट र धादिङलाई बाढी संकटग्रस्त क्षेत्र घोषणा
-
भोटेकोशी बाढी : नुवाकोट र धादिङमा ८ जनाको शव फेला
-
रसुवा विपद्: डब्ल्युएचओले स्वास्थ्य तथा राहत सामग्री पठाउने


प्रतिक्रिया