उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन् : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले देशमा उत्पन्न विपद्को सामना गर्न राज्यका सम्पूर्ण संयन्त्र परिचालन गरिएको बताएका छन्। उनले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई तीव्र बनाइएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार बिहीबार बिहान ६:३० बजेदेखि उद्धारका लागि हवाई उडान सञ्चालन गरिएको छ। हालसम्म १५ भन्दा बढी उडान भइसकेका छन् भने थप हेलिकोप्टरलाई उद्धारका लागि तयारी अवस्थामा राखिएको छ।
नेपाली सेनाले बिहीबार बिहान सञ्चालन गरेको उद्धार अभियानमार्फत रसुवाको टिमुरेबाट ११६ जनालाई सकुशल उद्धार गरिएको उनले बताएका छन्। उद्धार गरिएकामध्ये ९५ जना नेपाली र २१ जना भारतीय नागरिक रहेका छन्। त्यस्तै, टनेलबाट ७ जना नेपाली नागरिकको समेत उद्धार गरिएको प्रधानमन्त्री शाहले जानकारी दिएका छन्।
प्रभावित क्षेत्रमा अत्यावश्यक राहत तथा सहयोग सामग्री पुर्याउने कार्यसमेत जारी रहेको उनले बताएका छन्। जेनेरेटर, पोर्टेबल मोबाइल टावर, मेडिकल सामग्री, टेन्ट तथा फलाम र ढुंगा काट्ने मेसिनलगायत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ।
प्रधानमन्त्री शाहले छिट्टै विपद् प्रभावित क्षेत्रमा अस्थायी मोबाइल नेटवर्क तथा मोबाइल चार्जिङको व्यवस्था गरिने बताएका छन्। यसबाट प्रभावित नागरिकसँग सम्पर्क स्थापित गर्न सहज हुने अपेक्षा गरिएको छ।
नुवाकोटमा अस्थायी शिविर स्थापना गरी खाना तथा पानीको व्यवस्था गरिएको उनले जानकारी दिएका छन्। साथै, ड्रोन सर्वेमार्फत प्रभावित क्षेत्रको अवस्थाबारे सूचना संकलन गर्ने कार्य अन्तिम चरणमा पुगेको बताएका छन्।
हेलिकोप्टरबाट उद्धार गर्दा सिकिस्त बिरामी, वृद्धवृद्धा, महिला तथा बालबालिकालाई प्राथमिकता दिइने प्रधानमन्त्री शाहले बताएका छन्। उनले प्रभावित नागरिकलाई धैर्य र संयम कायम राख्दै उद्धार तथा राहतको प्रतीक्षा गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले भने, ‘यथाशीघ्र उद्धारका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालित छन्।’
ताजा अपडेट
-
योभन्दा ठूलो प्रकोपको जोखिममा छौं, किनारका बस्तीबारे सोचौं
-
किशोरीमा यौन शिक्षाको अभाव, अपराधजन्य घटनामा संलग्नता बढ्दै
-
बाढी प्रभावित पशुपन्छीका लागि निःशुल्क औषधि उपलब्ध गराउने कान्तिपुर भेट डिस्ट्रीब्युटर्सको घोषणा
-
सुनको भाउ १२ सयले घट्यो
-
भोटेकोशी बाढीः प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार र राहत तीव्र


प्रतिक्रिया