बस र ट्रक गरी नौ सयभन्दा बढी सवारीसाधन बेपत्ता, मानसरोवर जाने ४० गाडी पनि सम्पर्कविहीन
काठमाडौं । रसुवामा बुधबार बिहान तिब्बतबाट आएको विनाशकारी बाढीमा परी नौ सयभन्दा बढी बस तथा ट्रक बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार बाढीमा परी चार सयभन्दा बढी यात्रुवाहक सवारीसाधन बेपत्ता भएका छन् ।
महासंघमा विभिन्न यातायात कम्पनीबाट हालसम्म २१९ वटा यात्रुवाहक गाडी बेपत्ता भएको विवरण प्राप्त भएको छ । अन्य कम्पनीबाट पनि विवरण संकलन भइरहेकाले यो संख्या अझ बढ्न सक्ने महासंघका महासचिव तथा प्रवक्ता टेकनाथ गौतमले बताएका छन् ।
उनका अनुसार पर्यटन, तीर्थयात्रु तथा सर्वसाधारण बोकेर रसुवा, नुवाकोटका विभिन्न गन्तव्यतर्फ गइरहेका चार सयभन्दा बढी यात्रुवाहक गाडी बाढीमा परेको प्रारम्भिक अनुमान छ । मानसरोवर जाने तीर्थयात्रु बोकेका मात्रै करिब ४० वटा गाडी बेपत्ता भएका छन् । त्यस्तै, ६० भन्दा बढी माइक्रोबस पनि सम्पर्कविहीन छन् ।
बाढीमा परी चार सयभन्दा बढी चालक तथा सहचालकसमेत सम्पर्कविहीन रहेको महासंघले जनाएको छ । ती सवारीसाधनमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन ।
सवारीसाधनको क्षति तथा बेपत्ताको विवरण संकलन गर्न महासंघले कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिका सदस्यमा श्री श्रेष्ठ, दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरी रहेका छन् । समितिले शुक्रबारदेखि प्रभावित क्षेत्रमा पुगेर क्षतिको विवरण संकलन तथा बेपत्ता सवारीसाधनको खोजी गर्ने महासचिव गौतमले बताएका छन् ।
यस्तै, बाढीमा परी पाँच सयभन्दा बढी मालवाहक ट्रकसमेत बेपत्ता भएको प्रारम्भिक अनुमान छ । व्यवसायीका अनुसार चीनबाट सामान ल्याउन गएका मात्रै करिब तीन सय ट्रक बाढीमा परेका छन् । सीमाक्षेत्रमा भन्सार पासका लागि रोकिएका करिब दुई सय मालवाहक गाडी पनि बाढीमा बेपत्ता भएको बताइएको छ ।
महासंघका अनुसार बस र ट्रक गरी कुल नौ सयभन्दा बढी सवारीसाधन बेपत्ता भएका छन् भने चार सयभन्दा बढी चालक तथा सहचालक सम्पर्कबाहिर रहेका छन् । थप विवरण संकलन भइरहेकाले क्षतिको वास्तविक आँकडा अझ बढ्न सक्ने जनाइएको छ ।
स्रोत : नयाँ पत्रिका
ताजा अपडेट
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, १ हजार ९७६ जनाको उद्धार
-
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्यो २४ घण्टे हटलाइन सेवा
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो
-
रसुवा बाढीबाट प्रभावित नेपाललाई आवश्यक सबै सहयोग गर्ने ट्रम्पको घोषणा


प्रतिक्रिया