NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १३ गते

गाईजात्रामा भक्तपुरका पूर्व फर्केका नौ ढुङ्गेधारा खोज्दै नयाँ पुस्ता

भक्तपुर । भक्तपुरको सापारु अर्थात् गाईजात्रामा धेरैले घिन्ताङघिसी, तहामचा (ताहासा) र भैलद्योको आकर्षण मात्र देख्नुहुन्छ होला तर गाईजात्राको दिन बिहानै बाजागाजासहित भक्तपुरका नौ वटा पूर्व फर्केका ढुंगेधारा खोज्दै हिँड्ने ‘गुपु हिटी सिकेगु’ अर्थात् नौ ढुंगेधारा चिन्न जाने परम्परा पनि छ ।

यही परम्परालाई निरन्तरता दिँदै भक्तपुर नगरपालिका–८ लिवालीस्थित निओ फ्युजन बाजा समूहले आज बिहानैदेखि ‘गुपु हिटी सिकेगु’ कार्यक्रम आयोजना गरेको छ । समूहका अध्यक्ष सविन लेबाले लोप हुने अवस्थामा पुगेको परम्परालाई संरक्षण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार सापारु अर्थात् गाईजात्राको दिन नौ वटा ढुंगेधारामा मुख धुनुपर्ने, नौ जोडी लुगा फेर्नुपर्ने, नौ थरी परिकार खानुपर्ने र नौ पटक भक्तपुर नगर परिक्रमा गर्नुपर्ने चलन रहेको छ । यसै परम्पराअन्तर्गत पूर्व फर्केका नौ वटा ढुंगेधारामा मुख धुन जाने र ती ढुंगेधारा चिन्न जाने परम्परा रहेको उनले बताए ।

लोप हुने अवस्थामा पुगेको यस परम्परालाई निरन्तरता दिन आफूहरूले करिब पाँच वर्षदेखि हरेक वर्ष कार्यक्रम गर्दै आएको लेबाले बताए । नेवारी पोसाकमा सजिएका सयौँ सहभागीले धाँ, धिमे र बाँसुरी बाजा बजाउँदै ती ढुंगेधाराको परिक्रमा गरेका थिए ।

संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार विगतमा भक्तपुरका स्थानीयवासी बाजागाजासहित नेवारी पोसाकमा सजिएर बिहानै ‘गुपु हिटी सिकेगु’ भन्दै सहभागी हुने गरेका थिए । तर पछिल्ला केही वर्षदेखि यो परम्परा लोप हुने अवस्थामा पुगेको उनले बताए ।

“आजभोलि नयाँ पुस्ताले बाजागाजामा रुचि राखेजस्तै नौ वटा पूर्व फर्केका ढुंगेधारा चिन्न जाने परम्परालाई पनि सँगसँगै अघि बढाउने प्रयास गरेकोमा खुसी लागेको छ,” श्रेष्ठले भने ।

उनका अनुसार सामान्यतः पश्चिम र दक्षिण फर्केका ढुङ्गेधारा हुने गरेकामा पूर्व फर्केको ढुंगेधारा पनि हुनुपर्छ भन्ने मान्यताका आधारमा त्यस्ता धारा निर्माण गरिएको इतिहास छ । सापारुको दिन ती पूर्व फर्केका ढुंगेधारामा मुख धुन जाने परम्परा त्यसैको निरन्तरता भएको उनले बताए ।

भक्तपुरमा पूर्व फर्केका ढुंगेधारा खोज्ने परम्परा सूर्यविनायक गणेश मन्दिर नजिक रहेको ढुंगेधाराबाट सुरु भएर भक्तपुरको तचपाल अर्थात् दत्तात्रयस्थित भिंद्यो हिटीमा पुगेर समापन हुने गर्दछ ।

यस क्रममा सूर्यविनायक गणेश मन्दिर नजिकको ढुङ्गेधारा (इनारे गणेद्य नपाँच्वंगु हिटी), इनारे (सूर्यविनायक) लुखा हिटी, भार्वाचो बजिगांछा हिटी, नासमना दबू हिटी, त:मारी धभारी चुक हिटी, भुलुचुलु हिटी, तिबुक्छें हिटी, भध्वाका हिटी र तचपाल भिंद्यो हिटी गरी नौ वटा ढुंगेधाराको परिक्रमा गरिन्छ । यी ढुंगेधारा मल्लकालीन समयमा निर्माण भएको संस्कृतिविद् श्रेष्ठले बताए ।

कार्यक्रममा सहभागी बालकृष्ण बनमालाले तीमध्ये केही ढुंगेधारामा पानी आउन छाडेको र केही लोप हुने अवस्थामा पुगेको बताए । पानी आउने ढुंगेधारा पनि व्यवस्थित नभएको उनले बताए ।

“पानी नआउने ढुंगेधारा त झन् लोप हुने अवस्थामा छन्,” निओ फ्युजन स्कुल अफ कम्प्युटरका सञ्चालकसमेत रहेका बनमालाले भने, “पूर्व फर्केका ढुंगेधारा खोज्ने वा त्यहाँ मुख धुन जाने परम्परा नै मासियो भने ढुंगेधारा पनि मासिँदै जाने र तिनको अस्तित्व नै समाप्त हुन सक्छ ।”उनले नौ ढुंगेधारा खोज्ने परम्परालाई जीवन्त राख्न सके ढुंगेधाराको संरक्षणमा योगदान पुग्ने बताए ।

ताजा अपडेट

नेपालवाच विशेष