NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १५ गते

रसुवा बाढी: खोज तथा उद्धार र पुनर्निर्माणको रियल टाइम अपडेट सिस्टम बनाउँदै ऊर्जा मन्त्रालय

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा जलविद्युत् आयोजनाहरुमा भइरहेको खोज तथा उद्धार, राहत र पुननिर्माणका लागि रियम टाइम अपडेट सिस्टम निर्माण थालेको छ ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठले आइतबार उच्चस्तरीय व्यवस्थापन संयन्त्र (एसएमटी) को बैठकमा रियल टाइम अपडेटको लागि सिस्टम बनाउन निर्देशन दिएका हुन् ।

ऊर्जा मन्त्रालयले हालसम्म राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वय गर्दै आएको थियो । मन्त्री श्रेष्ठको निर्देशनअनुसार अब आफ्नै सूचना प्रणाली बनाउन लागेको हो ।

मन्त्रालयका प्रवक्ता मोहनकुमार शाक्यकाअनुसार तत्काल मन्त्रालयको सूचना प्रवाहका लागि मन्त्रालयअन्तर्गत कुन जलविद्युत् आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न ‘रियल टाइम अपडेट’ प्रणाली औपचारिक रूपमा कार्यान्वयनमा ल्याउन लागिएको हो । ‘कुन-कुन जलविद्युत आयोजनामा कति जना मान्छे फसेका छन्, सुरुङ भित्र र बाहिर कति छन् ? हाम्रो प्रभावित १६ वटा आयोजनामा कहाँ-कहाँ रेस्क्यु अपरेसन भइरहेको छ? कति जनाको बाहिर उद्धार गरियो ? भित्रको प्रयासहरू के-के हुँदैछ ? त्यसमा मटेरियलको मोबिलाइजेसन हामी कसरी गरिरहेका छौँ ?

कोसँग कोअर्डिनेसन गरिरहेका छौँ ? मटेरियल बाटोमा छ कि ठाउँमा पुगिसक्यो ? नेसनल र इन्टरनेसनल एक्सपर्टहरूलाई पनि यसमा पुल गर्न सक्ने एउटा मेकानिजम बनाउँदैछौं । डे वान देखि डे फाइभ, डे सिक्ससम्म हामीले अहिलेसम्म के-के गर्यौँ ? कुन-कुन समयमा के-के हामीले गर्यौँ, त्यो पनि लिपिबद्ध बनाउने प्रयासमा छौँ,’ उनले भने ।

रियल टाइम अपडेट प्रणालीमार्फत विपद् प्रभावित मुख्य १६ वटा जलविद्युत आयोजनाहरूमा सुरुङभित्र र बाहिर रहेका श्रमिक/कर्मचारीहरूको स्थिति, उद्धारको अवस्था, सामग्रीको परिचालन र आवश्यक राष्ट्रिय/अन्तर्राष्ट्रिय विज्ञहरूको पुलिङसम्बन्धी विवरण अभिलेख र अनुगमन हुनेछ ।

एसएमटीमार्फत निरन्तर उद्धार र पुनर्निर्माणमा सक्रिय मन्त्री श्रेष्ठ

रसुवामा बाढी आउने वितिकै मन्त्री श्रेष्ठले विपद् व्यवस्थापन, द्रुत उद्धार तथा पूर्वाधार पुनर्निर्माणका लागि आफ्नै नेतृत्वमा उच्चस्तरीय व्यवस्थापन समिति (सिनियर म्यानेजमेन्ट टिम – एसएमटी) गठन गरेका थिए । जलविद्युत आयोजना, सबस्टेशन तथा सिँचाइ पूर्वाधारमा पुगेको क्षति र विपद्को अवस्थालाई सम्बोधन गर्न मन्त्रालयको सचिव, विभाग, महाशाखा र केन्द्रका प्रमुखहरु, नेपाल विद्युत प्राधिकरणका एमडीसहित उच्च अधिकारी सम्मिलित उच्चस्तरीय संयन्त्र सुरुवाती दिनदेखि नै बाढीपछिको उद्धार, राहत र पुनर्निर्माणमा खटिएको थियो ।

मन्त्रालय मातहतका उच्च अधिकारीहरु आफै फिल्डमा खटिएका थिए । उनीहरुले आफू मातहतका अरू निकायसँग सामग्री व्यवस्थापनमा समन्वय गर्ने, उद्धारमा गृह मन्त्रालयलाई सहयोग गर्ने काम गरेका थिए । साथसाथै विद्युत् आपूर्ति अवरुद्ध भएको ठाउँमा विद्युत पुर्‍याउने, वैकल्पिक ऊर्जाको व्यवस्था गर्ने काममा संयन्त्र सक्रिय भएको थियो । संयन्त्रकै सक्रियतामा नुवाकोटको ९० प्रतिशत ठाउँमा पुन: विद्युतीकरण भइसकेको छ भने रसुवामा पनि द्रुत गतिमा पुन: विद्युतीकरणको काम भइरहेको छ । मन्त्री श्रेष्ठले यो संयन्त्रमार्फत फिल्ड तहदेखि माथिसम्म सबैसँग नेतृत्वदायी समन्वय गरिरहेका छन् ।

मन्त्री श्रेष्ठले आइतबार एसएमटीको दुईपटक बैठक राखेर सबै कार्यको ब्रिफिङ लिएका छन् । सम्बन्धित सबै निकायलाई आ-आफ्नो मातहतको सबै परिचालन गरेर लिडरसिप देखाएर काम गर्न निर्देशन दिएका छन् । उनले मन्त्रालयले अहिलेसम्म खेलिरहेको समन्वयकारी भूमिकाअनुसारै काम गर्न सबैलाई निर्देशन पनि दिएका थिए ।

के के काम गर्यो ?
तुरुन्त फिल्ड परिचालन: एसएमटी कमिटी गठन लगत्तै पहिलो दिन नै प्राविधिक तथा उच्च पदाधिकारीहरूको टोलीलाई प्रभावित साइटहरूतर्फ परिचालन गरियो ।

तत्काल वैकल्पिक ऊर्जा सामग्री खरिद तथा हस्तान्तरण: बत्ती गएको क्षेत्रमा तत्काल सञ्चार र उज्यालो कायम राख्न पहिलो दिन नै २ किलोवाटका संस्थागत सोलार प्रविधि र २० वाटका ५०० वटा सोलार सेट खरिद/व्यवस्थापनको प्रक्रिया अघि बढाइयो। दोस्रो दिन नै यी सामग्रीहरू एकद्वार प्रणालीमार्फत प्रभावित क्षेत्र (रसुवा)मा पठाइएको ।

गृह मन्त्रालय र विपद् प्राधिकरणसँग समन्वय: उद्धारको मुख्य जिम्मेवारी गृह मन्त्रालयको भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गर्दै गृह मन्त्रालयलाई पूर्ण सहयोग गरिएको छ ।

भौतिक तथा प्राविधिक स्रोतको परिचालन: नेपाल विद्युत प्राधिकरण तथा विभागहरूसँग उपलब्ध एक्स्ट्राभेटर, ड्रिलिङ मेसिन, गाडी तथा अन्य अत्यावश्यक सामग्रीहरू तत्काल परिचालन गरी उद्धार टोलीहरूलाई सहयोग पुर्‍याइयो ।
विज्ञ टोलीको सहभागिता: उद्धार र जटिल प्राविधिक अवरोध हटाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञ टोलीहरूलाई समेत सहभागी गराई समन्वय भइरहेको छ ।

अब रियल टाइम अपडेट: विगत ५ दिनसम्म विपद् प्राधिकरण र अन्य निकायहरूसँग निरन्तर समन्वय गरिसकिएको र अब मन्त्रालय अन्तर्गत कुन आयोजना र साइटमा के भइरहेको छ भन्ने वास्तविक विवरण प्राप्त गर्न ‘रियल टाइम अपडेट’ संयन्त्र औपचारिक रूपमा कार्यान्वयनमा ल्याइँदैछ ।

अब के गर्दैछ ?
उच्चस्तरीय व्यवस्था संयन्त्रले अब राष्ट्रिय योजना आयोग र विपद् प्राधिकरणसँगको सहकार्यमा विस्तृत क्षति आकलन (Detailed Damage Assessment) गर्दै क्षतिग्रस्त जलविद्युत आयोजना र सबस्टेशनहरूको पुनरुत्थान (Rehabilitation), पुनर्निर्माण (Reconstruction) र पुनर्लाभ (Recovery Plan) का लागि स्रोतको पहिचान र कार्यविधि निर्माणको काम द्रुत गतिमा अगाडि बढाएको छ ।

मन्त्रालयकाअनुसार बाढीबाट चार सय बढी मेगावाट अर्थात १० प्रतिशत विद्युत् आपूर्तिमा असर परेकाले त्यसलाई पुनर्निर्माण गर्न संयन्त्रले काम अगाडि बढाएको हो ।

ताजा अपडेट

नेपालवाच विशेष