तीन स्थानमा बेलिब्रिज जडिँदै, चीनले ३० र भारतले ७ वटा पठाउँदै
काठमाडौं । बाढी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारले तत्काल तीन स्थानमा बेलिब्रिज पुल जडान गर्ने भएको छ । बाढीपछि सडक सञ्जालबाट अलग भएका स्थानलाई पुनः जोड्न तीन स्थानमा बेलिब्रिज जडान गर्ने तयारी अघि बढाइएको हो ।
सडक विभागका अनुसार भदौ १० गते आएको बाढीले ३५ वटा पुल बगेका छन् । तीमध्ये पहिलो चरणमा देवीघाटको तादी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज जडान गर्ने गृहकार्य अघि बढाइएको हो । बुधबारको बाढीले यी तीनै स्थानका स्थायी पुल बगाएको थियो । पुल बगाउँदा त्यहाँको नदी वारि र पारिको सम्पर्क टुटेको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले तादी, त्रिशूली बजार र बेत्रावती बजारमा बेलिब्रिज राख्ने विषयमा अध्ययन भइसकेको जनाएका छन् ।
बाढीले पुल बगेर सडक सञ्जालसँग टुटेका बस्तीलाई पुनः जोड्न सरकारले अस्थायी पुल निर्माणलाई प्राथमिकतामा राखेको प्रधानमन्त्री शाहको भनाइ छ । ‘रसुवा, नुवाकोटदेखि धादिङका अधिकांश स्थानका पुल भत्किएका छन्। सरकारले ती क्षेत्रमा अस्थायी पुल निर्माणलाई पनि प्राथमिकता दिएको छ,’ प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमा लेखेका छन् ।
सरकारसँग छ ७ बेलिब्रिज, चीन र भारतबाट ३७ थान आउँदै
सरकारले स्थायी पुल राखेर जनजीवन सामान्यतर्फ फर्काउने रणनीति बनाए पनि बगेका स्थानमा राख्न पर्याप्त बेलिब्रिज भने छैन ।
सडक विभागका अनुसार, सरकारसँग अहिले स्टकमा सात वटा बेलिब्रिज छन् । जसमा ४८ मिटर लम्बाइका ६ वटा र ७० मिटर लम्बाइका १ थान छन् ।
सडकसँग सम्पर्कविच्छेद भएका स्थानहरूलाई पूर्ववत अवस्थामा फर्काउन सरकारले चीन र भारतबाट बेलिब्रिज ल्याउने तयारी गरेको छ । प्रधानमन्त्री शाहले चीनबाट छिट्टै ३० वटा बेलिब्रिज प्राप्त हुने जनाएका छन् । २३० फिट सिंगल लेन मोडुलर स्टिल ब्रिज उपलब्ध गराएको भारतले थप ७ वटा बेलिब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
आवश्यक बेलिब्रिज प्राप्त भएपछि त्यसलाई क्रमशः जडान गर्ने योजना सडक विभागले बनाएको छ । सडक विभागका सहायक प्रवक्ता शुभाञ्जन दाहालले अहिले फिल्डमा गएर अध्ययनको काम भइरहेको बताए । अध्ययन सकिएपछि सम्भव भएका स्थानमा बेलिब्रिज जडान गरेर आवागमन सहज पारिने उनको भनाइ छ ।
‘अहिले विभागले स्थलगत अध्ययन गरेर कहाँको अवस्था के छ भनेर बुझ्ने काम गरिरहेको छ,’ दाहालले नेपालवाचसँग भने, ‘सम्भव भएका स्थानमा हामीसँग उपलब्ध बेलिब्रिज जोडिने छ ।
कति समय लाग्छ बेलिब्रिज जोड्न ?
अस्थायी रूपमा नदी वारपारका लागि बेलिब्रिज प्रयोग गरिन्छ । खासगरी प्राकृतिक प्रकोपले पुल बगेर सडक सञ्जाल विच्छेद भएको अवस्थामा आवागमन सुचारु गर्न बेलिब्रिज निकै उपयोगी बन्दै आइरहेको छ ।
बेलिब्रिज तयारी अवस्थाको पुल हो । यसलाई यन्त्रउपकरणको सहायताले आवश्यक स्थानमा लगेर जोड्न सकिन्छ । सडक विभागका सहायक प्रवक्ता दाहालको अनुसार, बेलिब्रिज जडान गर्न १५ देखि २० दिन लाग्छ ।
बेजिब्रिज जोड्न अध्ययन हुँदैछ, ठाउँ उपयुक्त भए १५–२० दिनमा काम सकिन्छ
ताजा अपडेट
-
प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित
-
आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
-
उद्धारमा संलग्न सांसदको आक्रोस– मै जान्ने हुँ भन्ठान्नेलाई तत्काल जिम्मेवारी दिने कानून बनाउनुपर्यो
-
कहिले बल्छ बाढी प्रभावित क्षेत्रमा बिजुली बत्ती ?
-
तीन स्थानमा बेलिब्रिज जडिँदै, चीनले ३० र भारतले ७ वटा पठाउँदै


प्रतिक्रिया