कहिले बल्छ बाढी प्रभावित क्षेत्रमा बिजुली बत्ती ?
काठमाडौं । गत भदौ १० गते आएको बाढीले विद्युत् पूर्वाधारमा गम्भीर क्षति पुग्यो । जलविद्युत् आयोजनाको हब मानिने त्रिशूली नदी किनाराका कैयन् आयोजना ध्वस्त भए । प्रारम्भिक आँकडाअनुसार डेढ खर्ब लागतमा बनेका १३ जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।
विद्युत् परियोजना र संरचना बाढीको चपेटामा पर्दा बाढी प्रभावित क्षेत्र र ती आयोजनाबाट विद्युत् उपलब्ध गराइएका स्थान अन्धकारमा डुबेका छन् । ६ दिनदेखि विद्युत् आपूर्ति नहुँदा जनजीवन प्रभावित हुन पुगेको छ । स्थानीयहरूका अनुसार, खाद्यान्न कुट्ने, पिस्ने मिल सञ्चालन नहुँदा खाद्यान्न अभाव हुन थालेको छ । त्यस्तै, मोबाइल फोन चार्ज हुन नसक्दा आफन्तहरूसँगको सम्पर्क समेत टुटेको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, प्रभावित क्षेत्रमा अवरुद्ध विद्युत् पुनस्र्थापनाको काम अघि बढेको छ । यसैक्रममा रसुवाको कालिकास्थान, नौकुण्डको केही भाग, गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग र सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पु–याइएको छ ।
रसुवाकै आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत् सञ्चालनको तयारी गरिएको छ ।
प्रधानमन्त्री बालेन शाहले सोमबार एक फेसबुक पोस्ट् गर्दै रसुवाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको जनाएका छन् ।
बाढीको चपेटामा परेको नुवाकोटको सबै क्षेत्रको विद्युत् सेवा भदौ १० गतेदेखि नै प्रभावित भएको थियो । प्रधानमन्त्री शाहका अनुसार, सोमबारसम्म जिल्लाका ८५ प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ । जिल्लाका १५ प्रतिशत भागमा विद्युत् सेवा अवरुद्ध हुन पुगेको र अबको ५ दिनभित्र त्यसलाई सुचारु गर्नेगरी काम भइरहेको उनले जनाएका छन् । ‘बाढीका कारण नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकोमा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ,’ प्रधानमन्त्री शाहको दाबी छ, ‘बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी ५ दिनभित्र विद्युत् सेवा उपलब्ध गराउने गरी काम भइरहेको छ।’
विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थानहरु, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भागहरू, बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिकाको सबै क्षेत्रमा रसुवा बाढीपछि विद्युत् सेवा अवरुद्ध छ ।
रसुवा बाढीका कारण धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्मको विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो । यसमा आदमघाटका केही क्षेत्रबाहेक सम्पूर्ण स्थानमा विद्युत् सेवा सुचारु भइसकेको छ । धादिङको बाँकी स्थानमा पनि अबको दुई दिनभित्र विद्युत् उपलब्ध हुने सरकारको भनाइ छ ।
ताजा अपडेट
-
रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन
-
प्रतिनिधिसभाको बैठक अनिश्चितकालका लागि स्थगित हुँदा संसदीय क्यालेन्डर प्रभावित
-
आजको सर्वदलीय बैठकमा दोस्रो तहका नेताहरू उपस्थित हुने
-
उद्धारमा संलग्न सांसदको आक्रोस– मै जान्ने हुँ भन्ठान्नेलाई तत्काल जिम्मेवारी दिने कानून बनाउनुपर्यो
-
कहिले बल्छ बाढी प्रभावित क्षेत्रमा बिजुली बत्ती ?


प्रतिक्रिया