NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?

काठमाडौं । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूलीमा प्रवेश गरेको बाढीले विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेकाको उद्धार थालिए पनि लामो समयसम्म आशाप्रद प्रगति हासिल हुन सकेन । सुरुङमा फसेका व्यक्तिको उद्धार गर्न गम्भीरता नदेखाएको भन्दै सरकारको चर्को आलोचना भयो । खासगरी अन्तर्राष्ट्रिय उद्धारकर्ता नबोलाएकोप्रति असन्तुष्टि ज्यादा देखियो ।

यद्यपि, बाढीको नवौं दिन त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा फसेकामध्ये दुई जनाको जीवितै उद्धार गर्न उद्धारकर्ताहरू सफल भएका छन् । यसले अन्य जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिहरूको पनि जीवितै उद्धार हुनसक्ने आशा पलाएको छ ।

नेपाली सेनाका अनुसार अहिले प्रभावित आयोजनाहरूका सुरुङभित्र तीव्र गतिमा उद्धार कार्य भइरहेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका तालिमप्राप्त उद्धार टोलीहरू प्राविधिक जटिलता र जोखिमका बाबजुद सुरुङभित्र प्रवेश गरेर फसेकाहरूको खोजीमा निरन्तर खटिएका छन्।

सेनाले दिएको पछिल्लो विवरण अनुसार सबैभन्दा बढी प्रगति रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा देखिएको छ, जहाँ सेनाको टोली २७५ मिटर गहिराइसम्म प्रवेश गरिसकेको छ। यस्तै, अपर त्रिशूली १ को सुरुङभित्र २०० मिटरसम्म पुगेर उद्धार टोलीले खोजी कार्यलाई तीव्रता दिएको छ।

जीवितै उद्धार गर्न सफल भएको त्रिशूली ३ ‘ए’ को सुरुङमा उद्धारकर्ताहरू १७० मिटरभित्रसम्म पुगिसकेका छन्। त्यहाँ २ जनाको सकुशल उद्धार भइसकेको छ भने अन्य व्यक्तिहरू पनि हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकी क्षेत्रमा खोजी प्रयास जारी राखिएको छ।

उता, चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा सेनाको टोली १५० मिटरभित्रसम्म प्रवेश गरी उद्धार र खोजीमा जुटेको छ। तुलनात्मक रूपमा कठिन बनेको त्रिशूली ३ ‘बी’ को सुरुङमा भने टोली ३० मिटरभित्रसम्म मात्र पुग्न सकेको छ। सो क्षेत्रमा भारी मात्रामा माटो र लेदो थुप्रिएकाले अहिले त्यसलाई पन्छाउने र बाटो खुलाउने काम प्राथमिकताका साथ भइरहेको छ।

विशिष्ट प्राविधिक भूगोल रहेको लाङटाङ हाइड्रोमा भने उद्धारको वैकल्पिक उपाय अपनाइएको छ। सुरुङभित्र सोझै प्रवेश गर्न कठिन भएपछि प्राविधिक टोलीले सुरुङका विभिन्न ठाउँबाट प्वाल पारेर ८ फिट लम्बाइ र ३ फिट चौडाइको ढोका तयार पारेको छ। सोही मार्गमार्फत उद्धार टोली भित्र छिरेर खोजी कार्यलाई अगाडि बढाइरहेको छ।

सुरुङभित्र अझै पनि बाक्लो लेदो, पानीको निरन्तर बहाव र अक्सिजनको कमी जस्ता गम्भीर प्राविधिक चुनौतीहरू कायमै छन्। यद्यपि, त्रिशूली ३ ‘ए’ मा ९ दिनपछि मिलेको सफलताले उद्धारमा खटिएका सुरक्षाकर्मी र प्राविधिकहरूको मनोबल उच्च बनाएको छ। उद्धार टोलीहरूले चौबीसै घण्टा परिचालन भएर बाँकी सुरुङहरूबाट पनि सुखद समाचार ल्याउने अपेक्षासहित कार्य जारी राखेका छन्।

ताजा अपडेट

नेपालवाच विशेष