जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
जनकपुरधाम। गुठी संस्थानले जनकपुरधाम उपमहानगरपालिकाभित्र रहेका राजगुठीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा भएको अनधिकृत अतिक्रमण हटाउन ७ दिनको समय दिएको छ। संस्थानले सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो।
संस्थानले सार्वजनिक गरेको सूचनामा सम्बन्धित व्यक्ति तथा संस्थालाई सात दिनभित्र अनधिकृत अतिक्रमण तथा संरचना हटाउन भनिएको छ। तोकिएको समयभित्र अतिक्रमण नहटाए प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यसअघि जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोडधोइबाट देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका अतिक्रमित संरचना हटाइएको थियो ।सोहीअन्तर्गतका पोखरी तथा पोखरीको डिलमा समेत अनधिकृत रूपमा निर्माण गरिएका संरचना र गरिएको भोगचलन हटाउने प्रक्रिया अघि बढाइएको गुठी संस्थानले जनाएको छ ।
गुठी संस्थानका अनुसार देवान पोखरी (चन्द्र कूप), मध्यमासर, रुक्मिणी सर, विडाल सर (विराही), गेन्ही पोखरी, ठाडी पोखरी, लवकी पोखरी (रजौल), कपलमोचनी सर, पुरन्दर सर, लवकी पोखरी, लक्ष्मण सर (बलराम सर), पापमोचनी सर, अन्नी कुण्ड, सीता कुण्ड र विहार कुण्ड लगायतका पोखरी तथा पोखरीको डिलमा विभिन्न व्यक्ति तथा संस्थाले अनधिकृत रूपमा अतिक्रमण गरी संरचना निर्माण तथा भोगचलन गर्दै आएको पाइएको छ।
गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदल र २०६२ सालको प्रतिवेदन कार्यान्वयन समितिको प्रतिवेदनका आधारमा अतिक्रमण हटाउन सूचना जारी गरिएको संस्थानले जनाएको छ।
जनकपुरधामका ऐतिहासिक तथा धार्मिक महत्व बोकेका पोखरीहरू लामो समयदेखि अतिक्रमणको चपेटामा पर्दै आएका बेला गुठी संस्थानले अतिक्रमण हटाउने प्रक्रिया अघि बढाएको हो।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया