यातायातको पहुँचसँगै काठमाडौँ पुग्न थाले भोजपुरका ‘खसीबोका’
पहिला दसैँ–तिहारजस्ता ठूला चाडपर्वका बेलामात्र फाट्टफुट्ट खसीबोका बिक्री हुने गर्दथे । किसानलाई खसीबोका बेच्न स्थानीय हाटबजारसम्म डोहोर्याएर लैजानुपर्ने झन्झटसँगै सोचेजस्तो मूल्य नपाइने बाध्यता थियो । अहिले सडक सञ्जाल विस्तार भएसँगै गाउँका खसीबोका काठमाडौँ, धरान, इटहरी र विराटनगरजस्ता ठूला सहरसम्म पुग्न थालेका छन् ।
अहिले गाउँमै जिउँदो खसीबोका प्रतिकिलो रु ५०० देखि ६०० सम्ममा सहजै बिक्री भइरहेको छ । राम्रो मूल्य पाउन थालेपछि जिल्लामा बाख्रापालनमा किसानको आकर्षणसमेत बढेको छ ।
गाउँबाट खसीबोका सङ्कलन गरेर काठमाडौँ पठाउँदै आएका स्थानीय व्यापारी गणेश विष्टका अनुसार अहिले महिनामा २०० का हाराहारीमा खसीबोका काठमाडौँ पठाउने गरिएको छ । युवाहरू मिलेर गाउँबाट सङ्कलन गरिएका खसीबोका काठमाडौँ ढुवानी गर्दा प्रतिगोटा रु ८०० देखि एक हजार ५०० सम्म भाडा लाग्ने गरेको उहाँले जानकारी दिनुभयो ।
घरआँगनबाटै खसीबोका बिक्री हुन थालेपछि किनबेचमा ठूलो सहजता आएको टेम्केमैयुङ–५ मझौलेका स्थानीय हर्कराज लुइँटेल बताउँछन् । घरमै तराजुमा जोखेर बेचिने भएकाले ठगिने सम्भावना नरहेको उहाँको भनाइ छ । आफूलाई पैसा खाँचो परेको अवस्थामा तुरुन्तै बिक्री हुँदा गर्जो टार्न सहज भएको उनले जानकारी दिए ।
“यातायातको सुविधाका कारण गाउँघरमा पालिएका खसीबोका अहिले काठमाडौँलगायतका ठूला सहरसम्म जान थालेका छन्”, उनले भने, “विगतमा अन्दाजको भरमा बेच्नुपर्दा घाटा सहनु पथ्र्यो । अहिले व्यापारी आफैँ खोरसम्म खोज्दै आउँछन् । खोरबाटै राम्रो मूल्यमा बिक्री गर्न पाउँदा निकै सहज भएको छ ।”
अर्का स्थानीय किसान रमेश विष्टले पनि घरैबाट सोचेजस्तो मूल्यमा खसीबोका बिक्री हुन थालेपछि बाख्रापालनबाट मनग्य आम्दानी लिन सकिने अवस्था बनेको बताए। “विगतमा पनि खसीबोका बिक्री त हुन्थे, तर सहज थिएन”, उनले भने, “आफूलाई परेका बेला तत्कालै बिक्री हुने अवस्था पनि थिएन । तर अहिले भने बिक्रीका लागि कुनै समस्या छैन ।” सडक सुविधाका कारण बजारको पहुँच विस्तार भएसँगै दुर्गम गाउँका किसानका लागि बाख्रापालन व्यवसाय भरपर्दो र गतिलो आम्दानीको स्रोत बन्दै गएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
-
सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना: उच्च सतर्कता अपनाउन मौसमविद्को आग्रह
-
निजामती सेवा दिवसका औपचारिक कार्यक्रम रद्द, बजेट राहत कोषमा
-
मियामी विमानस्थलमा कार्गो विमान दुर्घटना, ५ जनाको मृत्यु
-
भरतपुर-काठमाडौँ उडानमा यात्रुको उच्च चाप


प्रतिक्रिया