NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ २५ गते

अरूको बैंक खाता प्रयोग गराउने आशंकामा तीन महिला पक्राउ

भद्रपुर (झापा), २५ भदौ । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविकोपार्जन गर्ने व्यक्तिलाई रकमको प्रलोभन देखाएर बैंक खाता खोल्न लगाउने र उक्त खातामार्फत हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण गर्ने गरेको आशंकामा प्रहरीले तीन महिलालाई पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड क्षेत्रमा यस प्रकृतिका गतिविधि भइरहेको सूचनाका आधारमा निगरानी बढाउने क्रममा उनीहरूलाई बुधबार पक्राउ गरी अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका महिलाको परिचय प्रहरीले सार्वजनिक गरेको छैन।

इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकका अनुसार आर्थिक रूपमा कमजोर व्यक्तिलाई केही हजार रुपैयाँ दिने प्रलोभन देखाएर उनीहरूको नाममा बैंक खाता खोल्न लगाउने र विभिन्न सेवा प्रदायक कम्पनीका सिमकार्डसमेत लिन लगाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

त्यसपछि मोबाइल बैंकिङलगायतका माध्यमबाट हुने कारोबारमा अन्य व्यक्तिले नियन्त्रण लिने गरेको हुनसक्ने प्रहरीको आशंका छ। प्रहरीका अनुसार खाता खोलिदिएबापत खातावालालाई रु. ८ हजारदेखि रु. १० हजारसम्म दिने गरेको पाइएको छ।

खातावालाले आफ्नो खातामार्फत भइरहेको कारोबारबारे जानकारी नपाउने र कारोबारको नियन्त्रण अन्य व्यक्तिले लिने गरेको हुनसक्ने प्रहरीको भनाइ छ।

पक्राउ परेका तीनै जनामाथि अनुसन्धान भइरहेको छ। घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुनसक्ने भएकाले प्रहरीले खोजी तथा निगरानी तीव्र पारेको प्रहरी नायब उपरीक्षक पाठकले बताउनुभयो।

प्रहरीले आफ्नो नाममा रहेको बैंक खाता अरूलाई प्रयोग गर्न नदिन सर्वसाधारणलाई आग्रह गरेको छ। आफ्नो खातामार्फत गैरकानुनी कारोबार भए खातावाला समेत अनुसन्धानको दायरामा पर्न सक्ने भएकाले आर्थिक प्रलोभनमा परी बैंक खाता, एटीएम तथा मोबाइल बैंकिङसम्बन्धी विवरण अरूलाई उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ।

ताजा अपडेट

नेपालवाच विशेष